अपाङ्गता भएकाहरुको शिक्षा र हेरचाहमा मध्यपुर थिमि नगरपालिका

नविना खर्बुजा, भक्तपुर, असार ६
आकाशे निलो रंगको कमिज र गाढा निलो रङ्गको घुँडामुनि सम्म आउने घाँघर लगाएकी बिजुली गिरी उमेरले ४५ वर्षकी हुनुभयो, तर उहाँ भने आफुलाई भखरै २५ वर्षको बताउनुहुन्छ । मध्यपुर थिमि–२ सानो थिमिस्थित आर्मी व्यारेक निवासी बिजुली बौद्धिक अपाङ्ग हुन् । शारीरिक रूपमा सक्षम देखिन्छन् तर बोली स्पष्ट छैन ।
मध्यपुर थिमि वडा नं. ५ सिद्धिकाली मन्दिर परिसरमा रहेको बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालित मानव विद्या गृहमा बिजुली विगत १५ वर्ष देखि जीवन उपयोगी शिक्षा लिइरहनुभएको छ । घरमा बस्दा हेरचाह नपुग्ने र मानसिक तथा शारीरिक तवरले समेत समस्या देखिएपछि उहाँलाई अभिभावकले यहाँ पठाएको हो । हरेक दिन विहान १० देखि ३ बजे सम्म विद्या गृहमा रमाइलो गरेर बिजुली घर फर्कनुहुन्छ । उहाँ जस्तै ३३ जना बौद्धिक अपाङ्गता भएका ६ देखि ४५ वर्षसम्मका व्यक्तिहरु मानव विद्या गृहमा जीवन उपयोगी शिक्षा लिइरहनुभएको छ ।


वि. सं. २०४४ सालमा स्थापित यस विद्या गृहमा क, ख र ग वर्गका अपाङ्गता भएका १३ महिला र २० पुरुषलाई निःशुल्क सेवा दिइरहेको प्राचार्य बाबुकृष्ण रन्जितले बताउनुभयो । “गठ्ठाघर, बालकोट, गाम्चा, दक्षिण बाराही, काँडाघारी, नगदेश, बोडे, भुलाखेल लगायतका ठाँउबाट आएका उनीहरुलाइ जीवन उपयोगी शिक्षाका साथै सामान्य लेखपढ, संगीत कक्षा र शारीरिक व्यायाम पनि गराउने गर्छौं,” प्राचार्य रन्जित भन्नुहुन्छ ।
विद्या गृहमा प्राचार्य सहित ३ जना शिक्षकहरु छन् । शैक्षिक क्रियाकलापका साथै प्रशासनिक कामकारबाही पनि आफै गर्दै आएको उहाँले बताउनुभयो । “नियम अनुसार एकजना शिक्षक बराबर आठ विद्यार्थी हेर्नुपर्ने हो तर कर्मचारी अभावको कारण तीन शिक्षकले नै सबै सम्हाल्दै आएका छौं,” रन्जितले भन्नुभयो ।
यस्तै अर्का हुन् रिदम क्षेत्री । १८ वर्ष लागेका रिदमको जन्मदै मस्तिष्क पक्षघात भएको हो । रिदमकी आमा हुन् तुलसा क्षेत्री जो आफ्नो छोराको सु–स्वास्थ्यको निम्ति हरसम्भव प्रयासरत हुनुहुन्छ । उहाँ जस्तै अभिभावकहरु मिलेर सुस्त मनस्थिति भएका बालबालिका रेखदेखका लागि अभिभावक स्वाबलम्वन समूह गठन गरि दिवा कक्षा केन्द्र स्थापना गरिएको छ । तुलसा आफै यहाँ प्रधानाध्यापक हुनुहुन्छ । मध्यपुर थिमि नगरपालिका २ मा १३ वर्ष देखी सञ्चालित यस केन्द्रमा ५ देखि ३० वर्षसम्मका मस्तिष्क पक्षघातका साथै अन्य सुस्त मनस्थिति भएका बालबालिकाहरु रहेका छन् ।


मस्तिष्क पक्षघातलाइ अंग्रेजÞीमा सीपी अर्थात् क्यरब्रेल प्याल्सी भनिन्छ । यो रोगको विश्वमै कुनै सफल उपचार छैन । शारीरिक व्यायाम तथा फिजियोथेरपी नै यसको लागि उपयुक्त उपचारको रूपमा लिने गरिन्छ । यहाँ बालबालिकाको लागि विभिन्न प्रकारका खेलकुद, फिजियोथेरापी, पोषिलो खानेकुरा, स्वास्थ जाँच गर्दै आएको उहाँले बताउनुभयो ।
“यसका लागि केही शुल्क भने अभिभावकबाट नै लिने गरेका छौं भने पालिकाबाट वर्षको ५ हजार रुपैयाँको छात्रवृत्ति उपलब्ध छ । यसवर्ष सो छात्रवृत्ति ७ जनाले पाएका छन्,” प्रधानाध्यापक तुलसा भन्नुहुन्छ, “तर यो अत्यन्तै न्यून रकम हो ।”
मध्यपुरमा अपाङ्गता भएका बालबालिकाको लागि समुदाय स्तरमा दुई र एक निजी सेवा केन्द्र सञ्चालित छन् । यी केन्द्रहरुमा ६४ जना अपाङ्गता भएका बालबालिकाहरुले सेवा लिइरहेका छन् । उनीहरुको खाजा, छात्रवृत्ति, सहयोग सामग्रीका लागि ३ लाख ५० हजार रुपैयाँको बार्षिक बजेट मध्यपुर थिमि नगरपालिकाले छुट्टयाइएको छ ।
यसमध्ये थिमिको लायकुस्थित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन १५ विद्यार्थीका साथै अन्य तीनवटै सेवा केन्द्रहरुमा अध्ययनरत ३० जनाको लागि वार्षिक ४० हजार बराबरको छात्रवृत्ति प्रदान गरिरहेको मध्यपुर थिमि नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । “बजेट कम भएकोले ५८ जना क, ख र ग वर्गका अपाङ्गता भएका बालबालिकालाई पाउनुपर्ने रकम भन्दा पचास प्रतिशतले मात्र वितरण गरेका छौं । ६ हजार तोकिएको हो तर संख्या धेरै भएपछि सबैलाई पुग्नेगरी ३ हजारको दरले छात्रवृत्ति र यातायात खर्चको व्यवस्थापन गरेका छौं, भट्टले भन्नुभयो ।
अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सिमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पुर्ण र प्रभावकारी तरिकाले सामाजिक जिवनमा सहभागी हुन बाधा भएका व्यक्ति हुन् । सरकारले यस्ता व्यक्तिलाई शारीरिक अशक्तताका आधारमा चार वर्गमा विभाजन गरेको छ ।


जसअनुसार खाना खान, कपडा लगाउन र नुहाउन पनि अरुको सहयोग लिनुपर्ने व्यक्ति पुर्ण अशक्त अपाङ्गता भएको भनिन्छ । अरुको सहयोग लिएर पनि दैनिक जीवन चलाउन असाध्यै कठिन हुने पुर्ण अशक्त अपाङ्गलाई क वर्गको रातो परिचयपत्र दिइन्छ ।
सहायक सामग्री र अरुको सहयोग (व्यक्तिगत सहयोगी वा दोभासे वा हेरचाह गर्ने व्यक्ति) लिएर आफ्नो दैनिक कार्य गर्ने व्यक्तिलाई अति अशक्त अपाङ्गता भनिन्छ । जसलाई ख वर्गको निलो परिचयपत्र दिइन्छ ।
यसैगरी व्यक्तिगत सहयोगी, वैशाखी जस्ता सहायक सामग्रीको प्रयोग गरि दैनिक जीवनका कामहरु आफै गर्न सक्ने व्यक्तिलाई मध्यम अपाङ्गता भएको भनिन्छ । यसलाइ ग वर्गको पहेँलो परिचयपत्र प्रदान गरिन्छ ।
दैनिक हिंड्दुल गर्न सामान्य समस्या भएका तर आफै काम गर्न सक्ने व्यक्तिलाई सामान्य अपाङ्गता भएकोे व्यक्ति मानिन्छ । यो घ वर्गमा पर्दछ भने यसमा सेतो परिचयपत्रको वयवस्था गरिएको छ । अपाङ्गता परिचयपत्र अपाङ्गता भएका व्यक्तिलाइ राज्यले दिएको पहिचान हो ।

मध्यपुर थिमि नगरपालिकाको तथ्यांक अनुसार २ सय ४२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । यसमा क वर्गको अपाङ्गता भएका ९७ जना, ख वर्गमा ६५ जना, ग वर्गमा २३ जना र घ वर्गमा सातजनाले नवीकरण गरेको महिला तथा बालबालिका शाखाकी सहायक साबित्रा भट्टराईले जानकारी दिनुभयो ।
थिमी नगरपालिकाले यस वर्ष अपाङ्गता भएका व्यक्तिहरुको लागि जीवन उपयोगी खाम बनाउने तालिम सम्पन्न गरेको छ । तालिममा १५ जना अपाङ्गता भएका र ३ जना अभिभावकहरुले समेत सहभागी जनाएको नगरपालिकाले जनाएको छ । “तालिमको लागि वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुनःस्थापना सहयोग कार्यक्रम अन्तरगत तीन लाख रुपैयाँको बजेट परिचालन गरेका छौं,” भट्टराईले भन्नुभयो । वागमती प्रदेशले देशभरका पालिकामा यो बजेट उपलब्ध गर्दै आएको छ । जुन अपाङ्गता क्षेत्रका लागि अत्यन्तै न्यून सहयोगको रूपमा पालिकाले लिने गरेका छन् ।