गमलासहितको जडिबुटीका बिरुवा निःशुल्क वितरण

भक्तपुर, असार ६
डिभिजन कार्यालय सानो थिमि भक्तपुरले बुधवार गमलासहितको जडिबुटीका बिरुवा निःशुल्क वितरण गरेको छ । राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन अन्तर्गत ‘जडिबुटी खेती अभियान, सम्बृद्धीको लागि योगदान’ नारासहित जडिबुटीको कौशी खेती प्रवद्र्धनका लागि डिभिजन वनले गमलासहितको जडिबुटीको बिरुवा वितरण गरेको हो ।
वन कार्यालयका अधिकृत सलिना कडालका अनुसार अमला, टिमुर, कागती, रोजमेरी र तेजपातका करिव ३ सय बिरुवा वितरण गरिएको हो । वनले मध्यपुर थिमि नगरपालिका वडा नं. २ को सहकार्यमा बिरुवा वितरण गरेको उहाँले बताउनुभयो ।
सो अवसरमा बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले हरियाली प्रवद्र्धन गरी वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि ठूला सडक, खोला नाला, सार्वजनिक खुल्ला जग्गाको स्थलगत निरिक्षण गरी त्यस्ता स्थानमा वृक्षारोपण गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयमा गठन भएका बाल इको क्लवसँग सहकार्य गरी कक्षा ५ देखी ८ सम्मका विद्यार्थीहरुलाई उनीहरुको नाम एक एक बोट वृक्षारोपण गर्न लगाई सो बिरुवा हुर्काउने जिम्मा समेत उसलाई दिएर वातावरण संरक्षण र वृक्षारोपणको बारेमा व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभयो । साथै मन्त्री भण्डारीले डिभिजन वन कार्यालयको नर्सरी अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख प्रेम सापकोटाले वन कार्यालयको गतिविधिका बारेमा प्रस्तुतीकरण गर्दै भक्तपुरमा विकास निर्माणका क्रममा वन क्षेत्रबाट जथाभावी सडक खन्ने कार्यले स्थानीय तह र वन कार्यालयबीच केही असमझदारी उत्पन्न हुने गरेको गुनासो राख्नुभयो ।


मध्यपुर थिमि वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले वन कार्यालयले बिरुवा उत्पादनमा समयानुकुल शहरी क्षेत्रमा अनुकुल हुनेगरी फलफुलका बिरुवामा जोड दिनुपर्ने सुझाव दिनुभयो । उहाँले शहरी क्षेत्रको हरीयाली प्रवद्र्धनमा नगरपालिका वनसँग सहकार्य गरी अघि बढ्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो
यसैबीच डिभिजन वन कार्यालय भक्तपुरले आगामी असार १६ गतेदेखी निःशुल्क बिरुवा वितरण गर्नेभएको छ । वन कार्यालयको नर्सरीमा रहेका २७ हजार बिरुवा मध्ये यसवर्ष २३ हजार बिरुवा वितरण गर्ने वन कार्यालयका अधिकृत सलिना कडालले जानकारी दिनुभयो । “नर्सरीमा रहेका करिव ४ हजार बहुवर्षिय बिरुवा अर्को वर्ष वितरण गरिनेछ,” उहाँले भन्नुभयो । उहाँका अनुसार कागती, कमला, अम्बालगायतका फलफुलका बिरुवासहित सल्ला, धुपी, कपुर, टाँकी, तेजपातका बिरुवा रहेका छन ।