नवौं विश्व योग दिवसको अवसरमा भक्तपुरमा प्रभातफेरीसहित विविध कार्यक्रम

भक्तपुर, असार ५
नवौं विश्व योग दिवसको अवसरमा मंगलवार भक्तपुरमा योग सम्बन्धी जागरणका लागि प्रभातफेरी गर्नुका साथै सहभागीहरुलाई योगाभ्यास र नसर्ने रोगको स्क्रिनिङ गरिएको छ ।
संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाउँदैं आएको छ । सो अनुसार योग दिवस बुधवार भएता पनि भक्तपुरमा आज (मंगलवार) यो दिवस मनाएको हो । अन्तराष्ट्रिय योग दिवसलाई यसवर्ष देखी विश्व योग दिवसको रुपमा मनाईंदैछ ।
विश्व योग दिवस २०२३ जिल्ला समारोह समितिको आयोजना र जिल्ला प्रशासन कार्यालय। जिल्ला योग समन्वय समिति, जिल्ला समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, शिक्षा विकास समन्वय ईकाइ कार्यालयको संयोजनमा आयोजित कार्यक्रममा टौमढीस्थित पाँचतल्ले मन्दिर प्राङ्गणबाट व्यासीस्थित भक्तपुर उद्योग वाणिज्य संघको कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो । प्रभातफेरी सुकुलढोका, अरनिको सभाहल, जिल्ला प्रशासन कार्यालयहुँदैं व्यासीस्थित भक्तपुर उद्योग वाणिज्य संघको कार्यालय पुगेर समापन भएको थियो ।


प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारीसहित भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुख, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सञ्चारकर्मी र योगका प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि आयोजित कार्यक्रममा सहभागीहरुलाई योगाभ्यास गराउनुका साथै दैनिक जीवनमा उपयोगी ओमकारसहितको मन्त्रोचारणको अभ्यास गराईएको थियो ।
सोही अवसरमा जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सहभागीहरुमा नसर्ने रोगको स्क्रिनिङका लागि स्वास्थ्य परीक्षण गरिएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले स्वस्थ जीवनको लागि योगाभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले दैनिक बिहान करिव आधा घण्टा समय दिएर योग गर्दा निरोगी हुने हुँदा यसलाई दैनिक जीवनको एक अंग बनाउनुपर्नेमा जोड दिनुभयो ।