सहकारीको आदर निकेतनमा रमाउँदैं ज्येष्ठ नागरिकहरु

नविना खर्बुजा, भक्तपुर, असार ८
‘दुःखमा कमजोर नहुनु अनि सुखमा नमात्तिनु’ यस्तो सोच राख्नुहुन्छ, भक्तपुर तौलाछे वडा नम्बर ९ निवासी सत्यमाया प्रजापति । उमेरले ८० नाघेपनि उहाँ जागरिलो र जोशिली देखिनुहुन्छ । सत्यमायाको दिनचर्या आजभोली निकै रमाइलो बित्ने गरेको छ ।
१४ वर्ष अघि श्रीमान विष्णुप्रसाद प्रजापतिको जन्डिस रोगका कारण मृत्युु भएपछि उहाँ एक्लो हुनुभएको हो । हुन त उहाँका ३ छोरा र एक छोरी छन् । छोराछोरीबाट ९ जना नातिनातिना पनि छन् तर उहाँ आफू विवाह गरेर भित्रिएको आफ्नो श्रीमानको कुलघरमा एक्लै बस्नुहुन्छ । त्यसैले त आफ्नो एक्लोपन र दिनभरिको न्यास्रो मेटाउन आजकल उहाँ भक्तपुर आदर निकेतन जानुहुन्छ । “खेतीपातीबाट मनग्ये खानलाउन पुगेकै छ, छोराछोरीको कमाई अहिलेसम्म लिनुपरेको छैन । सरकारले प्रदान गरेको सामाजिक सुरक्षा भत्ता छदैछ” सत्यमाया भन्नुहुन्छ ।


दिउँसोको खाली समय बिताउन र आफ्नो स्वास्थलाई पनि तन्दुरुस्त पार्न एक महिनादेखी आदर निकेतन आउन थालेको उहाँको भनाइ छ । भुकम्पले पुरानो घर भत्किएपछि छोराहरुले बनाइदिएको दुई तलाको पक्कि घरमा बिहान बेलुकी आफैं भातभान्सा गर्नुहुन्छ । सत्यमाया छोराबुहारीले छाडेर गएको दुःख भन्दा उनीहरुको प्रगती भएकोमा खुशी हुनुहुन्छ ।
यसैगरी तीन छोरा र तीन छोरीकी आमा हुन् लक्ष्मीकेशरी छुस्याबाग । उहाँ ८३ वर्षको हुनुहुन्छ । भुकम्प पछी पुरानो घर जेंलाबाट च्याम्हासिङ्हको नयाँ वस्ती मालपोत नजिक कान्छा छोरासँगै बस्दै आउनुभएकी लक्ष्मी केशरीको दैनिकी पनि उस्तै देखिन्छ । ६ वर्ष अघि श्रीमान बितेपछी उहाँको बुढेशकालमा एक्लोपना छाएको हो । “छोरा बुहारी खेती काम गर्छन् , नातिनातिना पनि अफिस जान्छन् । छोराले घरमा एक्लै बस्नुभन्दा आदर निकेतनमा जानुस् भनेपछि म यहाँ आउन थालेकी हुँ” लक्ष्मीकेशरीले खुशी हुँदै भन्नुभयो ।


भक्तपुर आदर निकेतनका अर्का जेष्ठ बुवा हुनुहुन्छ, कमलविनायक गरुडकुण्ड निवासी ८७ वर्षिय बुद्धिबहादुर ज्याख्व । कान कम सुन्नुहुन्छ । पाँच छोरा र पाँच छोरी गरि दस सन्तान हुर्काएका बुद्धि बहादुर आफ्नी श्रीमती लक्ष्मी ज्याख्वसँग दैनिक यहाँ आउने जाने गर्नुहुन्छ । “१२ जना नातिनातिना छन् , सबै काममा जाने हुनाले हामी बुढा बुढीको पनि अब यहीँ अफिस बनाएका छौं, काम केही छैन दिन बिताउन गा¥हो लाग्छ” ठट्टा पारामा लक्ष्मीले भन्नुभयो । आदर निकेतनमा चिया बिस्कुट खादै आफु जस्ता अरु सहकर्मीहरु सँग नाच्दै गाउँदै शारीरिक व्यायाम गर्दा दिन बितेको पत्तै नपाईने उहाँले बताउनुभयो ।


भक्तपुर नगरपालिका वडा नं. ९ मा रहेको भक्तपुर बचत तथा ऋण सहकारी सस्थाको लगानीमा गत जेठ १ गतेबाट शुरु भएको ‘भक्तपुर आदर निकेतन’मा सत्यमाया, विष्णुप्रसाद, बुद्धिबहादुर र लक्ष्मीकेशरीजस्ता १५ महिला र १० पुरुष गरी कुल २५ जना स्थानीय ज्येष्ठ आमाबुवाहरुले सेवा लिइरहनुभएको छ । निकेतनले उहाँहरुलाई दैनिक बिहान १० बजेदेखी साँझ ५ बजेसम्म सेवा दिइरहेको आदर निकेतनका अध्यक्ष लक्ष्मी प्रसाद कुसीले बताउनुभयो ।


ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र बनेको यो आदर निकेतन सम्भवतः सहकारी सस्थाद्धारा खोलिएको पहिलो हो । “दिनभरि कामकाजी परिवार हुँदा अभिभावकको हेरचाह र रेखदेख तथा खानपिन अनि समयमै औषधि दिनुपर्ने भएकोले आदर निकेतनको उद्देश्य नै त्यस्ता वृद्ध अभिभावकहरुको सुरक्षित तरिकाले हेरचाह गर्नु हो” कुसीले भन्नुभयो ।
सहकारीले सामुदायिक विकास कोषबाट आफ्नै नाममा खरीद करिब ११ आना जग्गामा ज्येष्ठ नागरिकको सेवा घर बनाएको छ । चारैतिर पर्खाल भएको हरियाली बगैंचा सहितको यो भवन निर्माणका लागि करिव ५० लाख रुपैयाँ खर्च गरिसकेको सहकारीका व्यवस्थापक सत्यनारायण सायजुले जानकारी दिनुभयो । ७० वर्ष नाघेका तर कुनै जटिल दिर्घरोग नभएका ज्येष्ठ नागरिकलाइ दिनमा तीनपटक चिया खाजाको व्यवस्था सहित आदर निकेतन सञ्चालन गरिएको उहाँले बताउनुभयो ।


निकेतनमा ज्येष्ठ नागरिकहरुलाई समय कटाउन परालको सुकुल बुन्ने, प्लाष्टिकका चकटी, ढकी बुन्न लगाउने, बत्ति काढ्ने र भक्तपुरको परम्परागत मौलिक खेल कसिमला पाय खेल खेलाउने समेत गरिएको छ । ज्येष्ठ नागरिकहरुले बुनेका सुकुल, चकटी र बत्ति के गर्ने भन्ने बारे तत्काल कुनै योजना नबनेको सायजुले बताउनुभयो ।
भर्खरै मात्र संचालनमा ल्याएको यस निकेतनले जेठ र असार दुई महिना निःशुल्क रूपमा सेवा दिइरहेको छ । त्यसपछि भने उहाँहरुको रेखदेख व्यवस्थापनमा आवश्यक केही न्यून शुल्क लिइने योजना रहेको सायजुले बताउनुभयो ।
सबैजसो ज्येष्ठ नागरिकको स्वास्थ विमा रहेको छ भने महिनाको एकपटक भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालका स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य परीक्षण गराउने, विभिन्न तिर्थस्थलको भ्रमण, भजन संगीतका साथै उहाँहरुकै चाहना बमोजिमको क्रियाकलापमा जोड दिने दीर्घकालीन योजनाको तयारी सस्थाको छ । यहाँका ज्येष्ठ नागरिकको लागि भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा अन्तर्गत साप्ताहिक रुपमा स्वास्थ्य परीक्षण गरी सहयोग प्रदान गरिरहेको अध्यक्ष कुसीले बताउनुभयो ।


यस वर्षका लागि १५ लाख बजेट छुट्टयाइएको अपुग हुने भएकोले आगामी आर्थिक वर्ष स्थानीय तह र विभिन्न दाताहरुबाट पनि आर्थिक सहयोग लिनुपर्ने स्थिती रहेको उहाँले बताउनुभयो ।
यता भक्तपुर नगरपालिकाले पनि खचामा ज्येष्ठ नागरिकको लागि छुट्टै सेवा केन्द्रको निर्माणमा लागिरहेको छ । जुन छिट्टै सम्पन्न हुने तरखरमा छ ।
अहिलेको व्यस्त जीवन पद्धतिमा कामकाजी परिवारका अभिभावकहरुको लागि यस्ता आदर निकेतनले ज्येष्ठ नागरिकको सम्मान, उचित स्याहार र सुरक्षामा सकारात्मक सामाजिक विकासमा सहयोग पुग्ने देखिन्छ । तथापि सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले केही राहत मिलेपनी यो अपुग छ ।
सामाजिक विकास मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला, विपन्न तथा पिछडिएको वर्गको अधिकारको संरक्षण र उनीहरुका लागि प्रादेशिक कानुन, नीति, योजना, बजेट तथा बार्षिक कार्यक्रमको तर्जुमा गरेता पनि सोको कार्यान्वयन भने फितलो छ । तसर्थ लक्षित वर्गको हित अभिवृद्धिका लागि स्थापित सामाजिक संघ संस्थाहरुलाई प्रोत्साहन गर्ने नीति नियममा पनि ध्यान दिनु जरुरी देखिन्छ ।