पुरुषोत्तमको उत्कृष्ट प्रदर्शनका साथ एकल अग्रता, रुपेशको खराब प्रदर्शन

भक्तपुर, जेठ २०
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेश्रो चरणका खेल सम्पन्न हुँदा नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शनका साथ एकल अग्रता बनाएका छन ।
काठमाडौंको होटल ले हिमालय, लाजिम्पाटमा जारी प्रतियोगिताको दोश्रो दिन आइतवार तेस्रो चरणको खेलमा काठमाडौंका अर्का पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठमाथि जित निकाल्दै पुरुषोत्तमले ३ अंकसहित एकल अग्रता बनाएको हो ।
उनले यसअघि पहिलो चरणमा दोलखाका राजीव कार्की, दोश्रो चरणमा काभ्रेका पूर्व नेपाल च्याम्पियन क्षितिज भण्डारीलाई हराएका थिए । पुरुषोत्तमले २११२ रेटिङ्गवाट खेल शुरु गरेका थिए भने हाल सम्म ३६ रेटिङ्ग वृद्धि गर्दै आफ्नो फिडे रेटिङ्ग २१४९ पु¥याएका छन् । अपराजित उनी ३ अंक सहित एकल अग्रता बनाउदै हंगेरीमा हुने ४५ औं ओलम्पियाडको लक्ष्य तर्फ अग्रसर भएका छन् ।


प्रतियोगितामा खराब प्रदर्शन गरिरहेका वर्तमान नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल दोश्रो चरणमा राजीव कार्की र तेश्रो चरणको खेलमा क्षितिज भण्डारीसँग पराजित भएका छन् । जैसवालको .५ अंक रहेको छ भने पूर्व च्याम्पियन केशब श्रेष्ठले खाता खोल्न सकेको छैन ।
यसैगरी अर्का युवा खेलाडी एआईएम शुश्रुत दहाल पनि दुई जित र एक खेल बराबर खेल्दै अपराजित दोश्रो स्थानमा रहेका छन । उनले पहिलो चरणमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसंग बराबरी गरेका थिए । २.५ अंक जोडेका दहालले दोश्रो चरणमा झापाका राजन सुवेदी र तेश्रो चरणमा सिएम मिलन लामा माथि जित हात पारेका छन् ।
११ चरणको राउण्ड रविन खेलवाट नयाँ नेपाल च्याम्पियन छानीने दौडमा मिलन लामा, क्षितिज भण्डारी, झापाका राजन सुवेदी र प्रकाशचन्द्र नेपाल दुई २ अंकका साथ संयुक्त तेस्रो स्थानमा उभिएका छन् । काठमाडौंका प्रेमकृष्ण महर्जन, ललितपुरका सुरोज महर्जन, धनुषाका सुशील चौधरी र राजीव कार्कीले एक १ अंक बनाएका छन् ।
महिला तर्फ ४ खेलाडको अग्रता
यस्तै ९ औं वुमन नेशनल च्याम्पियनसिपमा पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, काठमाडौंका रिया श्रेष्ठ, मोरङ्गका शान्ति धिमाल र कास्कीका पूजा भण्डारी ती ३ अंकका साथ संयुक्त पहिलो थानमा रहन सफल भएका छन् ।


सिन्दिराले पर्साका शुशीला गुरुङ र भक्तपुरका सविना गुजःलाई निरास पारेका थिए भने रियाले भक्तपुरका प्रश्ना किबानायो र काठमाडौंका बिनिता कपालीलाई पञ्छाए । अर्को तर्फ राम्रो खेल प्रदर्शन गरिरहेका शान्ति धिमालले श्रेषा दुवाल र शुशीलालाई हराए भने प्रश्ना र बिनिता माथि जित दर्ता गर्न सफल बने । झापाका पुनम प्रसाईं, झापाकै कृतिसरा अधिकारी दुई २ अंकसहित संयुक्त दोश्रो स्थानमा छन् । यस्तै बिनिता कपाली र शुशीला गुरुङको एक १ अंक रहेको छ ।
लुम्बिनी इभेण्ट म्यानेजमेण्टका अध्यक्ष सुबोधराज शेर्पालीले २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न कूल अनुमानित खर्च १३ लाख ५० हजार रहेको छ र उक्त खर्च व्यवस्थापनका लागि विभिन्न कर्पोरेट हाउस, खेलकुदका अभिभावकीय निकाय, स्थानीय तह र अन्य दाता एवं सहयोगी संघ संस्थाहरु संग समन्वय गरिएको जानकारी दिए ।
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष तथा संयोजक दिपेन राईले २४ औं राष्ट्रिय प्रतियोगिताको खुल्ला तर्फ ३ जना र वुमन तर्फ ४ जना छनौट भई हंगेरीको बुढापेष्टमा सेप्टेम्बर १०–२३ सम्म हुने ४५ औं चेस ओलम्पियाडमा सहभागीता जनाउने बताए ।