रियलले जित्यो युरोपियन च्याम्पियन्स लिग

भक्तपुर, जेठ २०
स्पेनिस टोली रियल म्याड्रिडले १५ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन क्लव बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।
रियललाई उपाधि दिलाउन डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे । खेलको ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । टोनी क्रुसको कर्नरमा कार्भाजलले हेडरमार्फत गोल गरेका थिए ।
त्यसको ९ मिनेटपछि जुनियरले गोल गर्दै रियललाई २–० को जित दिलाए । डर्टमुन्डका खेलाडीको मिस पासको फाइदा उठाउँदै जुड बेलिङघमले उपलब्ध गराएको पासमा जुनियरले गोल गरेका हुन् । यो सिजनमा सबै खाले प्रतियोगितामा गरि जुनियरको त्यो २४ औं गोल हो ।
च्याम्पियन्स लिगमा रियल सर्वाधिक सफल टोली हो । रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो । रियलभन्दा पछि च्याम्पियन्स लिगमा एसी मिलानको ७ उपाधि छ ।
डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । सो फाइनलमा डर्टमुण्डले बायर्न म्युनिखविरुद्ध २–१ को हार बेहोरेको हो । डर्टमुण्डका लिजेण्ड मार्को रुइसका लागि आजको खेल १२ वर्षपछि क्लबका लागि अन्तिम थियो ।
प्रशिक्षक कार्लो एन्सेलोट्टीको यो कीर्तिमानी पाँचौं च्याम्पियन्स लिग उपाधि हो । यता कार्भाजल, लुका मोड्रिच, टोनी क्रुस र नाचोले छैटौं पटक युरोपियन कपको उपाधि जित्दै रियलका पाको जेन्टोले बनाएको बेन्चमार्क बराबरी गरेका छन् ।