सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिता शुरु, मार्चपासमा गणेश मावि प्रथम

भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरपालिका व्यापी विद्यालयस्तरीय सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिता आज बिहिवारदेखी सानोथिमिस्थित फुटबल मैदानमा शुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगितामा नगरका संस्थागत र सामूदायिक विद्यालयगरी कुल २२ वटाको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले विद्यार्थीहरुको शिक्षाको साथसाथै उनीरुको वृत्ति विकासका लागि खेलकुदसँगै नृत्य एवम् कला क्षेत्रमा समेत लागनी गरिरहेको बताउनुभयो ।


नगरपालिकाले सामूदायिक विद्यालयमा खेल प्रशिक्षक र नृत्य एवम् वाद्यवादन प्रशिक्षकको व्यवस्था यसै शैक्षिक सत्रमा व्यवस्था गर्ने जानकारी गराउँदैं भविष्यमा फुटबल मात्र नभई मार्सल आर्टलगायतका खेल प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादनमा जोड दिने बताउनुभयो ।
वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले खेलले शारीरिक तन्दुरुष्टीका साथै अनुशासित बनाउने चर्चा गर्दै खेल क्षेत्रको विकासले असल नागरिक उत्पादन हुने भएकाले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो ।
प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले शिक्षा भनेको पढाई र किताबी ज्ञान मात्र नभई विद्यार्थीमा खेलकुद, नृत्य, गायनलगायतका क्षमता अभिबृद्धि हुनु भएको बताउनुभयो । उहाँले हरेक बालबालिका कुनै न कुनै क्षेत्रको प्रतिभा बोकेर आउने भएकाले विद्यालयसँगै स्थानीय सरकारले विद्यार्थीहरुको समग्र वृत्ति विकासका लागि पठनपाठनमा मात्र नभई खेलकुदलगायतका विविध क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा मध्यपुर युथ एशोसियसनका अध्यक्ष एवम् फुटबलका पूर्व राष्ट्रिय कप्तान तथा गोलकिपर उपेन्द्रमान सिं, एशोसियसनका उपाध्यक्ष अष्ट कवेलगायतले खेल हार जित मात्र नभईएक अर्कामा मित्रता र सद्भाव बढाउने माध्यम पनि भएकाले खेलाडीहरुले अनुशासित, खेल नियम र खेल भावनाका साथ खेल्नुपर्ने जोड दिनुभयो ।
यसैबीच प्रतियोगिताको उद्घाटनमा आयोजित मार्चपासमा गणेश मावि नगदेश प्रथम भएको छ । गणेशले ३६ अंक प्राप्त गरी प्रथम हुँदा आदर्श मावि सानोथिमि दोस्रो र क्रियटिभ लनर्स तेस्रो भए ।
मार्चपासमा प्रथम हुने टोलीलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ट्रफी प्रदान गर्दै पुरस्कृत गर्नुभयो ।