महिनावारीलाई जटिल बनाउन नहुनेमा सरोकारवालाको जोड

भक्तपुर, जेठ १७
महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित र स्वच्छ बनाउन परिवार नै सचेत हुनुपर्ने बताएको हो ।
‘महिनावारी मैत्री विश्वव्यापी हातेमालो’ नाराका साथ दशौ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा एमएचएमपिए नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री रामकुमारी झाँक्रीले महिनावारी सम्बन्धी समस्या परिवारले नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेसम्म आइपुग्दा महिनावारीसम्बन्धी सोचमा धेरै हदसम्म लचकता आएको भन्दै उहाँले यसमा रहेका जटिल अवधारणालाई क्रमशः हटाउँदै जानुपर्ने बताउनुभयो ।


“यो प्राकृतिक कुरा भएकाले कुनै व्यक्तिले डरलाग्दो बनाउनु हुँदैन । घरमै व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो । छाउपडीजस्ता कुरीति भत्काउन परिवार र समाज नै गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।
यसैगरी राष्ट्रिय योजना आयोगकी सदस्य प्रा.डा. संगीता सिंहले महिनावारी सम्बन्धी अहिले देशमा प्रभावकारी नीति बनेको दाबी गर्नुभयो । सोह्रौँ योजनामा यससम्बन्धी सोचमा परिवर्तन ल्याउन प्रभावकारी नीति बनाइएको भन्दै उहाँले कार्यान्यवन पक्षमा जोड दिनुपर्ने बताउनुभयो ।
पूर्वमिस नेपाल इभाना मानन्धरले देशमा विभिन्न रूपान्तरणका काममध्ये सामाजिक रूपान्तरणको काम एकदमै चुनौतीपूर्ण भएको धारणा राख्नुभयो । कार्यक्रममा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले सरकारले नै यस विषयमा गम्भीरतापुर्वक लिनुपर्ने बताउनुभयो ।


त्यसैगरी राष्ट्रिय महिनावारी सञ्जालका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले महिनावारी प्रति समाजिक र परम्परागत धारणालाई परिवर्तन गरि मर्यादित महिनावारी बनाउन जरुरी रहेको औंल्याउनुभयो ।
सो अवसरमा किशोरीहरुका दिन नेपालद्वारा आयोजित महिनावारीमा केन्द्रित चित्रकला, कविता र कथा लेखनमा उत्कृष्ट हुनेहरूलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । साथै महिनावारी स्वास्थ्य शिक्षा सम्बन्धि विभिन्न संघ सस्थाहरुले सामाग्री प्रदर्शन पनि गरिएको थियो ।