मध्यपुर थिमि नगरपालिका कपमा आदर्श, इमानुएल र अर्विटको विजयी शुरुवात

भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरव्यापी विद्यालयस्तरीय सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगितामा आदर्श मावि लाय्कु थिमि, इमानुएल र अर्विटले विजयी शुरुवात गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा आदर्श मावि लायकु थिमिले क्रियटिभ लनर्स एकेडेमीलाई पराजित गरे । सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको खेल मैदानमा जारी प्रतियोगितामा आदर्शले क्रियटिभलाई ५–० ले पराजित गरेको हो । उक्त खेलमा आदर्शका जर्सी नं. १० का अनिस काफ्ले म्यान अफ दि म्याच घोषित भए ।


प्रतियोगिताको दोस्रो खेलमा इमानुएल इङ्गलिस बोर्डिङ स्कुलले सुप्रिम एकेडेमीलाई १–० ले पराजित गरे । उक्त खेलमा इमानुएलका जर्सी नं. १० का अनुप श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
तेस्रो खेलमा अर्विट इङ्गलिस स्कुलले हिमचुली एकेडेमीलाई ५–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । खेलमा अर्विटका जर्सी नं. ६ का समिर तामाङ म्यान अफ दि म्याच बने ।
यही जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक र संस्थागत गरी कुल २२ विद्यालयको सहभागिता रहेको आयोजक मध्यपुर युथ एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले बताए ।