भक्तपुर सांगीतिक समाजको अध्यक्षमा अल्वर्ट निर्वाचित

भक्तपुर, जेठ १३
भक्तपुर सांगीतिक समाजको अध्यक्ष अल्वर्ट बज्राचार्य निर्वाचित हुनुभएको छ । समाजको शनिवार सम्पन्न प्रथम अधिवेशनले बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले समाजको उपाध्यक्षमा इन्दिरा लाछिमस्यु र शशि कायष्ठ कसपाल, सचिवमा मानस राज बोहरा र कोषाध्यक्षमा श्रीहरि दाहाल सर्वसम्मत चयन भएका छन । कार्यसमिति सदस्यहरुमा रोशन धौभडेल, श्रीजल मधिकर्मी, अनिता आचार्य, रशिल शाक्य, हरि सुन्दर लाखे श्रेष्ठ, रामहरी ताम्राकार, किरण सुवाल र रविन थापा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक हरिहर तिमल्सिनाले जानकारी दिनुभयो । निर्वाचन समितिमा दिपेन्द्र कुमार थापा र तुल्सी घेमोसु सदस्य थिए ।
यसअघि सम्पन्न समाजको साधारणसभा र अधिवेशनले गायक कुमा सागर र बाँसुरीवादक यजु आचार्यलाई न्हुछें लक्ष्मी मुनंकर्मी युवा पुरस्कार–२०७९ मार्फत सम्मान गरिएको थियो ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले भक्तपुरमा पनि संगीतकर्मीहरुको समूह रहेको र सो समाजले राष्ट्रिय स्तरको सांगीतिक कार्यक्रमहरुपनि गर्दै आएको सुन्न पाउँदा खुशी भएको बताउनुभयो ।
समाजका अध्यक्ष प्रविण शाहीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजका सल्लाहकारद्वय वरिष्ठ साहित्यकार धुर्व मधिकर्मी, वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेल, वरिष्ठ गीतकार शिव प्रसाद मुनंकर्मी, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौबन्जा, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविराज श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।