शताब्दी नारीबाट १०२ वर्षिया चन्द्रलक्ष्मी अभिनन्दित

भक्तपुर, जेठ १३
भक्तपुरकी १०२ वर्षिया ज्येष्ठ नागरिक शताब्दी नारीबाट अभिनन्दित हुनुभएको छ । भक्तपुर नगरपालिकाकी चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पुरा गरी १०२ औं वर्षमा प्रवेश गरेको अवसरमा आइतवार उहाँलाई शताब्दी नारीबाट अभिनन्दन गरिएको हो ।
उहाँलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त विभुषणबाट अभिनन्दन गर्नुभएको हो । सोही अवसरमा समाजसेवी एवम् शिक्षाविद् स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण गरिएको छ ।
तत्कालीन समयमा काठमाडौंको दरबार हाइस्कूलबाट एसएलसी र पटना विश्वविद्यालयबाट स्नातक उत्तीर्ण स्व. धौभडेल भक्तपुरको शैक्षिक परिवर्तन र शिक्षाको विकासमा अतुलनीय योगदान गर्नुभएको छ । नागरिक शास्त्रभाग १ र २, नागरिक शास्त्र बृहत तथा परिमार्जित, हाइस्कूल ग्रामर, गोल्डेन गाइड टु जनरल इंगलिस र कुखुरापालन कक्षा ९ र १० जस्ता महत्वपूर्ण पुस्तकहरु लेख्नु भएको छ ।


स्व. धौभडेलको सालिक अनावरण गर्दै नगरप्रमुख प्रजापतिले स्व. धौभडेल देशकै गौरव र प्रतिष्ठा भएको बताउनुभयो । उहाँले स्व. धौभडेलले शिक्षा क्षेत्र विशेष गरी भक्तपुरमा शिक्षाको विकासमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै नगरपालिकाले स्थानीय पाठयक्रममा उहाँको जीवनी समावेश गरी विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिनुभयो ।
प्रमुख प्रजापतिले स्व. धौभडेलले आफूले प्राप्त गरेको ज्ञान र सीप भक्तपुरमै प्रयोग गरी शारदा माविको संस्थापक, विद्यार्थी निकेतन माविको प्रअ र अन्यथुप्रै विद्यालय स्थापनामा महत्वपूर्ण योगदान पुर्याउनुभएको स्मरण गर्नुभयो ।
वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले स्व. अखण्डप्रसाद धौभडेल भक्तपुरको मात्र नभई देशकै महत्वपूर्ण व्यक्तित्वको रुपमा परिचित भएको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैंया धौबन्जारले कुनै पनि परिवारको सफलतामा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउँदै स्व. धौभडेल शिक्षा र समाजसेवाको माध्यमबाट आफूलाई उत्कृष्ट व्यक्तित्वको रुपमा स्थापित गराउन सफल व्यक्तित्व भएको प्रष्ट पार्नुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले स्व. धौभडेलले आफ्नो जीवनकालमा गरेका योगदान अनन्तकालसम्म जिवन्त रहीरहने बताउनुभयो ।
स्व. धौभडेलका जेठा सुपुत्र राजेन्द्रप्रसाद धौभडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्व. धौभडेलका भाइ अनन्तप्रसाद धौभडेल र कान्छा छोरा प्रकाशमोहन धौभडेलले स्व. अखण्डप्रसाद धौभडेलको व्यक्तित्व, देश र समाजको लागि पुर्याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।