सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा दोषी ठहर एक इन्जिनियरद्धारा आत्महत्या

भक्तपुर, जेठ ११
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक इन्जिनियरले बुधवार झुण्डिएर आत्महत्या गरेका छन । सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विशेष अदालतले ६ महिना कैद र ५ करोड ८४ लाख जरिवाना र बिगो बराबर रकम असुलीको फैसला सुनाएका ईञ्जिनियर नविनकुमार पोखरेल मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित मनोहरा फाँटमा रहेको आफ्नै निवास झुण्डिएको अवस्थामा फेला परेको थियो ।
उनलाई तत्काल उद्धार गरेर भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटार लगेपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको घरमा सुसाईट नोट समेत फेला परेको छ । सुसाईट नोटमा उनले ‘आफ्नो मृत्युमा कसैको हात छैन, अरुलाई दोष लगाउनु पर्दैन । यो रकम म तिर्न सक्दिन’ भनेर उल्लेख गरिएको स्रोतले जानकारी दिए ।
पोखरेल तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट केन्द्रमा प्रतिनिधिका रुपमा (मेकानिकल) पदमा कार्यरत थिए । अख्तियार मुद्दा दायर गर्दा उनी वन तथा वातावरण मन्त्रालयको वन तथा वातावरण मन्त्रालयका उपसचिव थिए ।
विशेष अदालतले गत जेठ ८ गते सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित इन्जिनियर पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।
अख्तियारले दायर गरेको मुद्दामा पोखरेलले गुणस्तरहिन ट्रान्सफरमरलाई सम्झौतामा उल्लेख भएअनुसार नै रहेको भनी गलत विवरणसहितको प्रतिवेदन दिएको आरोप लगाएको थियो । साथै जुन देशबाट ल्याउनुपर्ने हो त्यहाँबाट नल्याएको सामानलाई पनि स्पेसिफिकेसनबमोजिम भएको प्रतिवेदन दिएका थिए । यसैगरी सम्झौता बमोजिम जडित यन्त्रको ममर्त कार्य नै नगरिएको अवस्थामा पनि उनले भए गरेको भनी झुटा बिल चेक जारी गरी भुक्तानीका लागि पेश गरेका थिए ।