सहकारी र गिरिबन्धु काण्डलाई छायाँमा पार्न मिडिया आतंक – सांसद थापा

भक्तपुर, जेठ १०
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सहकारी वचत अपचलन र गिरीबन्धु टि स्टेट काण्डलाई छायाँमा पार्न गृहमन्त्रीले मिडिया आतंक मच्याएको आरोप लगाउनुभएको छ ।
रफत सञ्चार क्लवमा बिहिवार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले सहकारी ठगी प्रकरणमा संलग्न गृहमन्त्री रवि लामिछाने एवं गिरिबन्धु टि स्टेटको जग्गा प्रकरणमा संलग्न केपी शर्मा ओलीको अक्षम्य गल्तीलाई छायाँमा पार्न सरकारले मिडियामा आतंक मच्चाएको बताउनुभएको हो ।
“सरकारले कान्तिपुर मिडियामा गरेको हस्तक्षेप निकृष्ट, घोर आपत्तिजनक भएकाले म त्यसको भत्सर्ना गर्दछु,” थापाले भन्नुभयो ।
सांसद थापाले नेपाली कांग्रेसले घोषणा गरेको सडक आन्दोलनबाट वर्तमान संविधानमा अपरिहार्य संशोधनको बाटो खुला गर्ने खुलासा गर्नुभयो । उहाँले अहिलेकै निर्वाचन प्रणाली र यही कार्यशैली विद्यमान रहेसम्म कुनैपनि दलको बहुमत नआउने हुनाले राजनीतिक अस्थिरता रहिरहने भएकाले संविधानमा संशोधन गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।


सांसद थापाले संसदमा सत्तापक्षको अहिलेको रवैयाले गर्दा संसदीय इतिहासमा कालो धब्बा लागेको पनि टिप्पणी गर्नुभयो । उहाँले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाले संघीय गणतन्त्र र लोकतान्त्रिक व्यवस्थाको घाँटी निमोठ्ने कार्य भएको आरोप लगाउँदै भन्नुभयो, “सभामुखले संसदमा एक पार्टीको कार्यकर्ता भएर होइन कि सभामुखजस्तो भएर निष्पक्ष, तटस्थताको सिद्धान्त अंगालेर अगाडि बढ्नु जरुरी रहेको छ ।”
केही दिन अगाडिको प्रतिनिधिसभाको बैठकको घटनाक्रम स्मरण गर्दै उहाँले भन्नुभयो, “संसदको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरूप्रति जुन अभद्र व्यवहार देखाए, त्यो अत्यन्त दुःखदायी र घोर भत्सर्ना योग्य छ । ओली अहिले गिरिबन्धु भ्रष्टाचार काण्डमा मुछिएका कारण आत्तिएका र अत्तालिएका छन । त्यसैले अराजक स्थिति सिर्जना गर्नेतर्फ प्रयासरत छन् ।”
उहाँले प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिँदें फेरी पनि कांग्रेसलाई लाञ्छना लगाउने अभिव्यक्ति दिए क्षम्य नहुने बताउनुभयो । “जंगलमा रहेका माओवादीलाई शहरमा ल्याउनु के कांग्रेसको अपराध थियो ? अहिले त्यही जंगलीले कांग्रेसलाई चुनौती दिएको छ, त्यो कदापि सह्य छैन”, उहाँले भन्नुभयो ।
उहाँले सहकारीका महाठग र गिरिबन्धुमाथि निष्पक्ष कारवाही नभएसम्म मुलुकमा लोकतान्त्रिक मूल्यमान्यता अगाडि बढ्न नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु सरकारको घोर अलोकतान्त्रिक र आपत्तिजनक कार्य हो भन्दै निन्दा गर्नुभयो ।
उहाँले भन्नुभयो, “संसदका महासचिव पदमप्रसाद पाण्डेको पनि त एउटै नम्बरका दुईटा नागरिकता रहेको सन्दर्भ छँदैछ तर सिरोहियोमाथि मात्र के–को अनुसन्धान र कारवाही ? त्यसकारण सरकारको यो हस्तक्षेपकारी कदम लज्जास्पद र घोर आपत्तिजनक छ ।”
कांग्रेसले भोलि शुक्रबारदेखि आरम्भ गर्ने सडक आन्दोलनबारे प्रकाश पार्दै उहाँले भन्नुभयो, “कांग्रेसको आन्दोलन अब गैरकम्युनिष्ट चरित्रको हुने र लोकतान्त्रिक शक्तिलाई एकजूट पार्दै अगाडि बढ्ने छ, आन्दोलनको क्रममा हिन्दु राष्ट्र वा राजावादी सबै शक्तिलाई पनि संवाहक बनाउने सम्भावना रहेको छ ।”