प्रेसमाथिको दमन र हस्तक्षेप अस्वीकार्य

भक्तपुर, जेठ १०
लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले स्वतन्त्र प्रेसमाथिको दमन र हस्तक्षेप स्वीकार्य नभएको बताएको छ । मिडियाबाट सहकारी ठगी प्रकरणका सूचना सामग्री प्रकाशन÷प्रसारण गरेकोमा त्यसलाई रोक्ने नियतले सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा हतियारधारी दर्जनौं प्रहरीलाई पठाएर धरपकड गर्दै कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्नु खेदजनक रहेको समाजले बताएको छ ।
समाजका अध्यक्ष दामोदरप्रसाद दबाडीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले प्रेसमाथि दमन गरेर अधिनायकवाद प्रदर्शन गरेको उल्लेख छ । ‘गृहमन्त्री लामिछानेले सार्वजनिक समारोह र संसद्मा समेत स्वतन्त्र प्रेसमाथि धावा बोल्दै धम्क्याउने गरेका थिए । अनुसन्धानको नाममा मिडिया उद्यमीलाई गिरफ्तार गर्ने सरकारको यस्तो कदमको भत्सर्ना गर्दै प्रतिशोधपूर्ण सरकारको हर्कतविरुद्ध सशक्त ढंगले प्रतिवाद गर्ने समाज चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ । समाजले मिडियामाथिको हस्तक्षेपविरुद्ध एक हुन सम्पूर्ण संचारगृह र संचारकर्मीलाई आह्वानसमेत गरेको छ ।