भक्तपुर नगरपालिकाको १० महिनाको आम्दानी १ अर्ब २३ करोड, खर्च १ अर्ब ७ करोड

भक्तपुर, जेठ ७
भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को १० महिनामा एक अर्ब २३ करोड रुपैंया आम्दानी गरेको छ । नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यकालको दोस्रो वर्ष पुरा भएको अवसरमा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले सो जानकारी दिनुभएको हो ।
उहाँले चालु आ.व.मा आन्तरिक र वाह्य गरी कुल २ अर्ब १३ करोड २३ लाख आय अनुमान गरिएकोमा २०८१ बैशाख मसान्तसम्म कुल १ अर्ब २३ करोड ७५ लाख आम्दानी भएको बताउनुभयो । उहाँका अनुसार यो कुल अनुमानित आयको ५८ प्रतिशतमात्र हो ।
चालु आ.व.मा आन्तरिकतर्फ ६० करोड र बाह्य स्रोततर्फ १ अर्ब ५३ करोड २३ लाख ४० हजार तथा गत वर्षको बांँकी मौज्दात १३ करोड ६२ लाख ५४ हजार गरी कुल २ अर्ब २६ करोड ८५ लाख ९४ हजार स्रोत अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले चालु आ.व.को साउनदेखी बैशाख मसान्तसम्मको १० महिनामा आन्तरिक आयतर्फ ४० करोड ९३ लाख संकलन भएको बताउनुभयो । उक्त रकम चालु आ.ब.को लक्ष्यको ६८ प्रतिशत हो । गत बर्षको सोही अवधिको तुलनामा उक्त रकममा रु. ९ करोड ६४ लाख वृद्धि भएको उहाँले बताउनुभयो । “यो गत बर्षको तुलनामा ३१ प्रतिशतले बृद्धि हो । यो करको क्षेत्र बिस्तार हुँदै जानुको परिणाम हो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार नेपाल सरकारबाट राजश्व बाँडफाँटतर्फ चालु आ.व. मा ५ करोड २० लाख, वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी जम्मा ४४ करोड ४० लाख, मालपोत रजिष्ट्रेशनबाट रु. १ करोड ५३ लाख प्राप्त भएको छ भने बागमती प्रदेश सरकारबाट यसै आ.व. मा वित्तीय समानीकरण अनुदान र सशर्त अनुदानतर्फ जम्मा ३ करोड ६० लाख रुपैयाँ, सवारी करको राजश्व बाँडफाँडबाट रु. २ करोड ३३ लाख रुपैयाँ प्राप्त भएको छ ।
उहाँले राजश्व संकलनलाई प्रविधि मैत्री बनाउन विभिन्न सफ्टवेयर तथा अनलाईन भुक्तानी प्रणालीको प्रवद्र्धन गर्दै लगिएको बताउँदैं यसले नागरिकहरुले सहज, सुलभ तरिकाले राजश्व भुक्तानी गर्ने कार्य भई सेवा प्रवाह छरितो भएको दावी गर्नुभयो ।
उहाँले आर्थिक वर्षको पहिलो १० महिनामा चालु खर्चतर्फ १ अर्ब ३६ करोड ९४ लाख ९४ हजार विनियोजित रकम मध्ये ८५ करोड १९ हजार खर्च भई विनियोजित रकमको ६२ प्रतिशत खर्च भएको बताउनुभयो ।
पुँजीगत खर्चतर्फ विनियोजित रकम ८० करोड ४१ लाखमध्ये २० करोड ४२ लाख ५३ हजार खर्च भई २५ दशमलव ३२ प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो । वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख विनियोजन भएकोमा २ करोड ३५ लाख खर्च भएको छ ।
चालु आ.व.मा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ कुल विनियोजित २ अर्ब २६ करोड ८५ लाख ९४ हजार मध्ये बैशाख मसान्तसम्म ४७ दशमलव ४८ प्रतिशत वित्तीय प्रगति भएको उहाँले बताउनुभयो ।