राष्ट्रिय ‘बि’ खुल्ला बुद्धिचालमा पुरुषोत्तम र कृतिसराको अग्रता

भक्तपुर, जेठ ७
नेपाल बुद्धिचाल महासंघको आयोजनामा भक्तपुरमा जारी २४ औं खुल्ला तथा ९ औं महिला राष्ट्रिय ‘बि’ चेस च्याम्पियनसिप छनौट प्रतियोगिताको दोश्रो दिन तेश्रो चरणको खेल सम्पन्न हुँदा यु–१५ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवालले अग्रता लिएको छ ।
सूर्यविनायक रिसोर्टमा सञ्चालन भइरहेको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ र उदियमान खेलाडी सिएम मिलन लामाले पनि समान ३÷३ अंक बटुल्दै पुरुषोत्तमसँग शिर्ष स्थानमा रहन सफल भएका छन ।
पुरुषोत्तमले जनकराज जोशी, नवीन तण्डुकार र राजन सुवेदी माथि जित हासिल गरेका हुन । केशवले आशनारायण लवट, सुदिप तामाङ्ग र सोम आलेलाई पराजित गरे भने मिलनले अविक शाह, गणेश दुवाल र सजिन महर्जनलाई माथ दिन सफल बने ।
सूर्यविनायक नगरपालिकाको प्रायोजन रहेको प्रतियोगितामा एआईएम शुश्रुत दाहाल, प्रेमकृष्ण महर्जन, सिएम पुरुषोत्तम चौलागाईं, राजीव कार्की, आशिष फूँयाल, निकेन कुसाथा, सिएम कृष्ण थापा र प्रकाशचन्द्र नेपाल २ जित र एक बराबर खेल्दै समान २.५ अंक प्राप्त गर्दै संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन ।


महिलातर्फ कोशी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी र पोखराकी पूजा भण्डारी शत प्रतिसत जित निकाल्दै ३ ÷३ अंकका साथ पहिलो स्थानमा रहन सफल भएका छन् । कृतिसराले नमन सेढाई, लक्ष्मी कँडेल र सिन्दिरा जोशी माथि जित निकालेकी थिइन भने पूजा भण्डारीले एञ्जेल महर्जन, पुनम प्रसाईं र विनिता कपालीलाई पराजित गरेकी थिइन ।
काठमाडौंकी उदीयमान रीया श्रेष्ठ अपराजित रहँदै २.५ अंकमा एकल दोश्रो, पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, झापाकी पुनम प्रसाईं, विनिता कपाली, भक्तपुरकी प्रश्ना किबानायोले २ अंक जोड्न सफल रहे भने रुपन्देहीकी नमन सेढाई १.५ बोकेर राष्ट्रिय प्रतियोगितामा छनौट हुने बाटो पछ्याउँदै छिन् ।
भक्तपुर जिल्ला बुद्धिचाल संघको सह आयोजना एवं स्थानीय ब्यवस्थापनमा सञ्चालन भएको राष्ट्रिय ‘बी’ चेस छनौट प्रतियोगितामा जम्मा ६० जना पुरुष खेलाडी र १८ जना महिला खेलाडीहरुको सहभागिता रहेको छ ।
यस प्रतियोगिताबाट महिला र पुरुष दुबै समूहका ९÷९ जना खेलाडीहरु जेठ १९ गते देखि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामाका लागि छनौट हुनेछन् ।
प्रतियोगिताका संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिका अनुसार ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेण्ट क्लासिकल खेलमा डाइरेक्ट इन्काउण्टर, बुचोल्स वान टु, मोष्ट वीन नियम लागु रहने जानाए । उनले पुरुषतर्फ ९ चरण र महिलातर्फ ७ चरणको खेल हुने बताए । प्रतियोगिता जेठ १० गते सम्म सञ्चालन हुने छ ।