राजनीति नभई राजनीति गर्ने व्यक्ति फोहोरी–सांसद सुवाल

भक्तपुर, जेठ ७
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले राजनीति नभई राजनीति गर्ने व्यक्ति फोहोरी भएको बताउनुभएको छ । भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल टेबुल टेनिस कभर्ड हलको नवनिर्मित भवन आइतवार उद्घाटन कार्यक्रममा सांसद सुवालले राजनीति कहिल्यै पनि फोहोर नहुने बताउँदैं सरकारमा गएका राजनैतिक व्यक्तिहरुको चरित्र फोहोर भएकोले देशको राजनीति प्रदुषित भएको बताउनुभएको हो ।
उहाँले खेलकुद क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेता पनि सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने खालको कार्यक्रम नभएको बताउनुभयो । उहाँले पुँजीवादी देशमा उत्पादनका साधनहरु सीमित व्यक्तिको कब्जामा रहने र जनताले दुःख पाउने भएकोले समाजवादी व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा हाल कमलविनायक, लिवाली र बेखालमा गरि ३ वटा कभर्ड हल संचालनमा आएको जानकारी दिँदै नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको र हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरु सम्मान गर्दै आएको पनि बताउनुभयो । उहाँले खेलाडीहरु अनुशासित हुनुपर्नेमा जोड दिँदैं खेलाडीहरु देश र जनताको हक हित तथा देशको सार्वभौमसत्ता जोगाउन र देशको राजनैतिक विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै आएको बताउनुभयो । उहाँले खेल शारिरीक तथा वौद्धिक विकासको निम्ति अपरिहार्य भएको बताउनुभयो ।
बागमती प्रदेश सभाका सांसद सृजना सैंजुले कभर्ड हल निर्माणले खेल जगतमा नयाँ पुस्तालाई आकर्षण गर्ने बताउँदैं खेल मित्रताको लागि हो भन्नुभयो । खेलकुदले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने बताउँदैं उहाँले राज्यले खेलकुद क्षेत्रलाई अगाडि बढाउन नसकेको आरोप लगाउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक राजेन्द्र कपालीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै कार्य गरिरहेको ज्वलन्त उदाहरण कवर्डहल निर्माण भएको बताउनुभयो ।
अखिल नेपाल टेबुलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यले कभर्ड हललाई राष्ट्रिय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न सकिने बताउँदैं खेलाडीहरुले समाज परिवर्तनको लागि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. १० का वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौंमिखा र भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईलगायतले भक्तपुरमा टेबुलटेनिसको लोकप्रियता बढ्दै गएको चर्चा गर्दै प्रत्येक वडामा खुल्ला व्यायामशालाको व्यवस्था र नगरभित्रका विद्यालयहरुमा खेलकुद प्रशिक्षकहरुको बन्दोबस्त गर्दै आएको जानकारी दिनुभयो ।