टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

भक्तपुर, जेठ २
टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा छनोट भएको छ । टेवल टेनिसको दक्षिण एसियाली छनोट अन्तर्गत बिहिवार सम्पन्न फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४–३ सेटले पराजित गर्दै ओलम्पिक यात्रा तय गरेका हुन ।
लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा स्यान्टुले ११–७, ८–११, ११–७, ११–६, ८–११, ८–११, ११–९ ले संयोगलाई पराजित गरेको हो । यस जितसँगै स्यान्टु टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली बनेका छन् भने छनोट प्रतियोगिता मार्फत ओलम्पिकमा पुग्ने तेस्रो नेपाली खेलाडी बनेका छन ।
त्यसअघि संयोग र स्यान्टु फाइनल पुगेसँगै इतिहासमै ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बन्ने पक्का भएको थियो । स्यान्टु अघि तेक्वाण्डोका संगिता बैद्य र दिपक बिष्टले मात्र छनोट प्रतियोगिता मार्फत ओलम्पिक यात्रा गरेको थियो । संगिना २००४ को एथेन्स र दीपक २००८ को बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए ।
संयोग र स्यान्टु दुवैले श्रीलंकाका खेलाडीलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेका थिए । संयोगले जयशंका डि सिल्भालाई ४–० को सेटमा र स्यान्टुले चामेरा गिनिगीलाई ४–२ को सेटमा हराएका थिए ।
पहिलो र तेस्रो सेटमा कडा चुनौतीको सामना गरेका संयोगले १३–११, ११–७, १२–१०, ११–७ ले खेल आफ्नो पक्षमा पारेका थिए । स्यान्टुले कडा चुनौतीका बीचमा खेल ११–७, ११–९, ६–११, ८–११, ११–३, ११–८ ले जितेका थिए ।
महिलातर्फ माल्दिभ्सकी खेलाडी फातिमाथ अली दक्षिण एसियाली राष्ट्रबाट ओलम्पिकको लागि छनोट भएकी छिन् । फातिमाथले विमान्डे बन्दराले ४–१ सेटले हराएकी थिइन् ।