सन्दिपले बलात्कार मुद्दामा पाए सफाइ, क्यानद्धारा निलम्वन फुकुवा

भक्तपुर, जेठ ३
क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्दामा बुधबार सफाइ पाएका छन् । उच्च अदालत पाटनले काठमाण्डौं जिल्ला अदालतको पैmसला उल्ट्याउँदैं सन्दीपलाई सफाई दिएको हो ।
सन्दिपले उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले उनको निलम्बन फुकुवा गरेको छ । अब सन्दिपले आइसीसी टि २० विश्वकप खेल्ने बाटो खुलेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाण्डौं जिल्ला अदालतको फैसला उल्ट्याउदै सन्दिपलाई सफाइ दिएको अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए । “जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ,” उनले भने, “सन्दिपले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।” मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो ।
काठमाण्डौं जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको रायकिताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने बताए ।
“जिल्ला अदालतमा जस्तो फैसलाको संक्षिप्त आदेश भएन, अब यसबारेको विस्तृत विवरण पूर्णपाठ आएपछि मात्रै थाहा होला”, उनले भने ।
वि. सं. २०७९ भदौ ५ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध पीडित (गौशाला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् । बन्द प्रशिक्षणमा रहेका सन्दिपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दिप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी ग¥यो । २० असोजमा नेपाल आएका सन्दिप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर उच्च अदालत, पाटनले वि. संं २०७९ पुस २९ मा २० लाख धरौटीमा छाड्यो । त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेले ।
जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दिपले नेपालबाट खेलेनन् । लामो सुनुवाइ प्रक्रिया पूरा गरेपछि जिल्ला अदालतले १३ पुस २०८० मा सन्दिपलाई दोषी ठहर गरेको थियो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दिप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट सन्दिप दोषी देखिएको निष्कर्ष निकालेको थियो ।
नगरकोट गएकोदेखि सिनामंगलको होटलमा एउटै कोठामा बसेको स्वीकार गरेका सन्दिपले बलात्कार आरोप भने अस्वीकार गरेका थिए । पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दिपको क्रियाकलाप समेतलाई विचार गर्दा उनी र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतिको भन्न नमिल्ने निष्कर्ष निकालेको थियो ।
यद्यपि न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका थिए । घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै उनले नाबालिका बलात्कार भने अस्वीकार गरेका थिए ।
आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि, तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने माग दाबी थियो । न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दिपलाई ८ वर्ष जेल सजाय र पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको थियो । त्यसविरुद्ध सन्दिपले हालेको पुनरावेदनमा उच्च अदालतले उनलाई सफाइ दिएको हो ।