नेविसंघले बुझाए सरकारलाई ६ बुँदें ज्ञापनपत्र

भक्तपुर, जेठ १
नेपाल विद्यार्थी संघ भक्तपुरले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
नेविसंघले सहकारी वचतकर्ताहरुको वचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गरेको छ ।
ज्ञापनपत्रमा सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न समेत माग गरेको छ ।
नेविसंघले शिक्षा विधेयक तत्काल लागु गर्न समेत माग गरेको छ । “विद्यार्थी केन्द्रित आवश्यक विद्येयक परिमार्जन तथा संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागू गर्न माग गर्दछौं,” ज्ञापनपत्रमा उल्लेख छ ।


उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न समेत नेविसंघले माग गरेको छ ।
नेविसंघले भक्तपुरमा रहेका संस्थागत विद्यालयहरूमा शुल्कलाई नियमन गर्न र सार्वजनिक विद्यालयमा २१ औं शताब्दी मैत्री अध्यापन पद्धति तथा गुणस्तरीय शिक्षा लागू गराउन समेत माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ज्ञापनपत्रलाई तत्काल सम्बन्धीत निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै जिल्लामा सहकारीको अनियमितता नियन्त्रण गरी सर्वसाधारणको वचतको सुरक्षा गर्ने र समग्र जिल्लाको सुरक्षा व्यवस्था चुष्ट पारिएको जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझाउन नेविसंघ भक्तपुरका अध्यक्ष बद्रीराम थापाको नेतृत्वमा टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।