पत्रकारितामा प्रविधि भन्दा कन्टेन्ट महत्वपूर्ण

ललिता साह, भक्तपुर, जेठ १
पत्रकारिता क्षेत्रका विज्ञहरुले पत्रकारितामा प्रविधि भन्दा पनि कन्टेन्ट महत्वपूर्ण रहेको बताएका छन । उनीहरुले पत्रकारितामा गल्ती भए सच्याउने तत्परता देखाउनुपर्नेमा समेत जोड दिएका छन ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको संयोजन तथा प्रेस काउन्सिल नेपालले मंगलवार भक्तपुरमा आयोजित युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताको सवाल विषयको कार्यक्रममा सहभागीहरुले जुनसुकै प्रविधि र सञ्चारका माध्यमहरु विकास भएपनि छापामाध्यमको महत्व नघट्ने बताए ।


नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको सिद्धान्त अनुसार प्रक्रिया पुरा गरेका कन्टेन्ट र ती कन्टेन्ट प्रशारण प्रकाशन गर्ने सञ्चारमाध्यमलाई पत्रकारिताको नजरले हेर्नुपर्ने र त्यसो नभएको अवस्थामा पत्रकारिता मान्न नसकिने बताउनुभयो ।
“मिडियाप्रतिको बुझाइलाई सर्वव्यापी गर्दै प्रविधिमैत्री मिडियाहरूलाई अवसरको रुपमा लिनुपर्छ । केलाई मिडिया भन्ने केलाई युट्युब भन्ने अलमलिरहनु भन्दा दुई कुरालाई छुट्टाछुट्टै टोकरीमा राख्ने गरी नीति बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।
उहाँले प्रेस काउन्सिलले मिडियालाई जिम्मेवार बनाउने काममा थप सक्षम बनाउनुपर्नेमा जोड दिँदैं प्रविधिको प्रयोग÷अभ्यास कतातिर गर्ने भनी छुट्याउन सकिने कानुन निर्माणको क्रममा रहेको बताउनुभयो ।


राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले आममानिसले मोबाइलभित्र रहेको युट्युब र सामाजिक सञ्जाल हेर्छन् तर टेलिभिजन किन हेर्दैनन् भनी प्रश्न गर्दै मिडिया भन्दा कन्टेन्ट महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले दर्शक वा पाठक बढाउने वा घटाउने भन्ने विषय मिडियाले दिने कन्टेन्टले निर्धारण गर्ने बताउँदैं “हामीले दिने कन्टेन्ट, विश्वसनीयताले हाम्रो पेशालाई सुरक्षा चुनौती कम गर्ने हुनाले युट्युबलाई पनि सम्पादकीय प्रक्रिया अपनाउन जरुरी रहेको छ,” भन्नुभयो ।


प्रेस काउन्सिल नेपालका पुर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले काउन्सिलले पत्रकारहरुलाई आचारसंहिता सिकाउँदैं गर्दा स्वतन्त्र पत्रकारिताको विषय उठाउन नहुने बताउनुभयो । उहाँले नियमन गर्ने निकायले स्वतन्त्र पत्रकारिताको चिन्ता पनि गर्नु एक आपसमा नमिल्ने धारणा राख्नुभयो ।
उहाँले नेपालको पत्रकारिताको विगतलाई हेर्दा राजनीतिक आन्दोलन पार्टीको विचारलाई अगाडि ल्याउन पत्रकारिताको विकास भएको इतिहास रहेको बताउनुभयो ।


प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गरिरहँदा गल्ती भए सच्याउने तत्परता देखाउनुपर्ने बताउनुभयो । उहाँले राज्यले डिजिटल साक्षरतालाई पनि ध्यान दिनुपर्ने बताउँदैं “युट्युब सञ्चारका एउटा माध्यम मात्रै भएकोले यसको कन्टेन्ट नियमन जरूरी छ”, भन्नुभयो ।
उहाँले अहिलेसम्म काम परेको बेला मिडियालाई प्रयोग अन्यथा वेवास्ता गर्ने राज्यको नियतले पनि पछिल्लो समय मिडियामाथि चौतर्फी संकट आइपरेको उल्लेख गर्दै पत्रकारहरुले चलाउने मिडिया र आमनागरिकले चलाउने सामाजिक प्लेटफर्म बीच फरक छुट्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।


नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष जगत कृष्ण प्रजापतिले आर्थिक मन्दी र कोभिडका कारण भक्तपुरमा केही पत्रपत्रिकाहरू बन्द भएको जानकारी दिँदैं जिल्लामा हाल दुई दर्जनको हाराहारीमा पत्रपत्रिका प्रकाशन भइरहेको, ६ वटा एफएम रेडियो, ३ वटा टेलिभिजन सञ्चालन भइरहेको बताउनुभयो ।
भक्तपुरका श्रमजीवी पत्रकारहरूमा पनि न्यूनतम पारिश्रमिकको समस्या रहेको बताउँदैं साना लगानीमा जिल्लाबाट निरन्तर प्रकाशित पत्रपत्रिकालाई समानुपातिक विज्ञापन वितरणको पहल गरेको बताउनुभयो । उहाँले प्रविधिले सुविधासँगै मानिसमा मानसिक विचलनदेखि पारिवारिक विखण्डन ल्याएकोले यसको नीतिगत नियमन आवश्यक रहेको धारणा राख्नुभयो ।


कार्यक्रममा विषय विज्ञहरु उज्जवल आचार्य र अध्यक्ष बस्नेतले युट्युबले पछिल्लो समय पारेको प्रभाव र कन्टेन्टका विषयहरूमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथी वरिष्ठ पत्रकार केदारनाथ कोइराला, तीर्थ कोइराला ,राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई , राजन शिवाकोटी, सम्पादकहरु दिनेश रेग्मी, अखण्ड भण्डारी, कुलचन्द्र न्यौपाने, क्रियाशील महिला पत्रकार समूहकी उपाध्यक्ष रामकला खड्का, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई सदस्य ललिता साह लगायतले धारणा र जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, पुर्वअध्यक्षहरु विकल प्रसाद श्रेष्ठ, अमर भुजु, पुष्करराज बुढाथोकीलगायतको सहभागिता रहेको थियो ।
तस्विर ः प्रेस काउन्सिल नेपाल