गोदावरी मेयर कपको सेमिफाइनल जेठ २ गते हुने

भक्तपुर, बैशाख २८
गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका दुवै खेल आगामी जेठ २ गते बुधबार हुने भएको छ ।
गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमै दुवै सेमिफाइनल खेल जेठ २ गते र फाइनल खेल जेठ ५ गते शनिबारका लागि तय भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी दिए ।
उनका अनुसार यो हप्ताभर नै पानी पर्ने अनुमान गरिएकाले अर्को सातासम्मका लागि खेल स्थगीत गरिएको हो । ‘पानी परिरहँदा यो मैदानमा खेलाउने अवस्था छैन, तसर्थ मौसम पूर्वानुमान अनुसार पानी पर्न कम सम्भावना भएकाले जेठ २ गते बुधबार सेमिफाइनल र जेठ ५ गते शनिबार फाइनल खेलाउन लागेका हौँ’, उनले भने ।
जेठ २ गतेको पहिलो सेमिफाइनलमा दिउँसो साढे १२ बजे मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन दिउँसो ३ बजे अर्को सेमीफाइनल चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच हुनेछ ।