आज अक्षय तृतिया, डोलेश्वरमा चार वटै ढोका खुला

भक्तपुर, बैशाख २८
वैशाख शुक्ल तृतीयाको अवसरमा आज (शुक्रवार) सनातन धर्मावलम्बीहरुले अक्षय तृतिया पर्व मनाउँदैछन । यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ । ब्रह्मा–विष्णु–महेश्वरको आह्वान गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ । यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ ।
पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत र सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ । गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ ।
अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ । त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ । अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ । भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ ।
शुक्रबार १ घडी ४९ पला अर्थात् बिहान ६ बजेर ३ मिनेटसम्म द्वितीया तिथि रहने र त्यसपछि तृतीया लाग्ने पञ्चांगमा उल्लेख छ ।


यसैबीच अक्षय तृतियाको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको चार वटै ढोका खुला गरी प्रमुख शिला छोएर दर्शन र पुजा गर्न पाईने व्यवस्था गरिएको छ ।
अक्षय तृतिया भगवान शिवको विशेष दिन भएकाले मन्दिरको गर्भगृह भित्र प्रवेश गरी मूख्य शिला छोएर आफैले पूजा अर्चना र दर्शन गर्न सक्ने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
डोलेश्वरमा वर्षको तीन दिन अक्षय तृतिया, डोलेश्वरलाई केदारनाथको शिर भाग घोषणा गरिएको दिन भदौ ६ गते र शिवरात्रीको दिन गर्भगृहमा प्रवेश गरी मूख्य शिला छोएर पुजा आराधना गर्नुका साथै दर्शन गर्न पाईने व्यवस्था छ । अन्य दिन भने दर्शनार्थीले मुख्य द्धारबाटै दर्शन गर्ने व्यवस्था छ ।