इनार खन्नेक्रममा निसासिएर भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर, बैशाख १९
भक्तपुरको चाँगुनारायण नगरपालिका–४, खनालचोकको गाउँडोलमा इनार खन्ने क्रममा निसासिएर बुधवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका ४, प्रिती घरभई विगत चार वर्षदेखी चाँगुको गाउँडोलमा बस्दै आएका ४६ वर्षिय दिपक सुनुवार र उनका भतिजा २८ वर्षिय सन्देश सुनुवार हुन ।
स्थानीय भागवतलाल गेलालको जग्गा भाडामा लिएर बस्दै आएका सुनुवार परिवारले आफ्नै प्रयोजनको लागि इनार खन्ने क्रममा अक्सिजनको कमीले अचानक निसासिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन कार्कीले बताउनुभयो ।


प्रहरीका अनुसार उक्त स्थानमा इनार खन्ने अर्को टोलीले केही दिन अघि इनार खन्न शुरु गरेका थिए । उनीहरुले खन्न नसक्ने भन्दै छोडेर गएपछि मृतकद्धय काका भतिज मिलेर इनार खन्न शुरु गरेका थिए ।
करिव ५५ फिट गहिरो इनारमा ग्यास निस्केपछि सन्देश र दिपक दुवै जना अचेत भएका थिए । उनीहरु अचेत भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै बिपद् ब्यवस्थापन महाशाखा, काठमाण्डौबाट २५ जना, जिल्ला परिसर भक्तपुरबाट ३० जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट ९ जनाको प्रहरी टोली र आरएनए १६ को टोली खटिई उद्धार गरी भक्तपुर अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको डिएसपी कार्कीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।