वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग ३ करोड ठगेको आरोपमा २ जना पक्राउ

भक्तपुर, बैशाख १८
वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ३ करोड रुपैंया भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भिसा प्लस प्रा. लिं कन्सल्टेन्सीका सञ्चालक धादिङको साविक जीवनपुर गाविस १, हाल धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रे–६ का २७ वर्षीय दर्शन नेपाली छन् ।
उनीहरुलाई मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सार्वजनिक गरेको हो । उनीहरुले वैदेशिक रोजगारीका लागी बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरुमा पठाउने भन्दै प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
अनुसन्धानको क्रममा उनीहरुले कुखुरा फार्म सञ्चालन गरेका व्यक्तिको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको छ । २०८० को असोजमा कीर्तिपुरमा कुखुरा फार्म सञ्चालन गर्ने कीर्तिपुर नगरपालिका–६ का ललितजंग बमसँग बयलकोटीको सम्पर्क भएको थियो ।
प्रहरीका अनुसार बयलकोटीले आफ्नो समेत गोदावरीमा ३२ रोपनी जग्गा रहेको फार्म सञ्चालनका लागि मान्छे चाहिएको भन्दै बमसँग सम्पर्क अघि बढाए । फार्म सञ्चालन भन्दा पनि कन्सल्टेन्सी खोलेर नाफा बाँडौं भन्दै बमको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको एसपी रेग्मीले बताउनुभयो ।
उनीहरुले कन्सल्टेन्सीको खातामा पैसा आएपछि बमलाई चेक काट्न लगाउने र उक्त रकम लक्षिन्द्र बहादुर शाहीको खातामा जम्मा गरी निकाल्ने गरेको पाइएको एसपी रेग्मीले बताउनुभयो ।
उनीहरुले विदेश जानका लागि देश अनुसारको शुल्कहरुको विवरण समेत तोकेका थिए । न्युजिल्याण्डका लागि १६ लाख, बुल्गेरिया र रोमानियाका लागि ७ लाख, क्रोएसियाका लागि १२ लाख लाग्ने भन्दै उनीहरुले रकम उठाएका थिए ।
यो गिरोहमा रहेर ठगी गर्नेहरु केही भने भारतमा बसेर योजना बनाउने गरेको प्रहरीको दाबी छ । विदेश जानेहरुबाट सुरुमा ५० हजार लिएको र अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क परमिट आएपछि २ लाख लाग्छ भन्दै रकम माग गरेको पाइएको प्रहरीको भनाइ छ । यो गिरोहबाट ठगीमा पर्नेहरु अझै धेरै हुन सक्ने प्रहरीको अनुमान छ ।
उनीहरुले सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशिया, मकाउ, टर्कीलगायतका देशमा जान अवसर रहेको भनी विज्ञापन पोस्ट गरी कन्सल्टेन्सीमै बोलाइ रकम लिने गरेको खुल्न आएको छ ।
गिरोहले शुरुमा ५० हजारदेखि ३ लाख लिने र भिसा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाइ रकम लिने गरेको खुलेको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरुको महाराजगञ्जको कन्सलटेन्सीबाट २०, दर्शन नेपालीको जडिबुटीस्थित कोठाबाट १ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानीलगायत १८२ जनाको रेकर्ड फाइल बरामद गरेको छ । उनीहरुलाई थप कारवाहीको लागि प्रहरी परिसर काठमाण्डौं पठाएको एसपी रेग्मीले बताउनुभयो ।