सुन गायव गरेको भन्दै अपहरण गर्ने दुई जना पक्राउ

भक्तपुर, बैशाख १८
कतारबाट काठमाण्डौँमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही मलंगवा–३ घरभई हाल काठमाण्डौं सिनामंगल बस्ने २५ वर्षीय अजिम अली र सोही ठाउँ बस्ने एमडी सनी अलाही रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।
रेग्मीका अनुसार सिकेन्द्र बैशाख १७ गते कतारबाट काठमाण्डौं आएका थिए । सिकेन्द्रलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै अजिम र सनी अलाहीले अपहरण गरेर बन्धक बनाई राखेका थिए । प्रहरीले मंगलवार सकुशल उद्धार गरेको रेग्मीले जानकारी दिनुभयो ।
घटना विवरण अनुसार सप्तरीको राजविराजका २६ वर्षीय सितेन्द्र कतारमा झण्डै दुई वर्ष काम गरेर सोमबार घर फर्किँदै थिए । कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा सितेन्द्रको मनसुर अली नामक व्यक्तिसँग भेट भयो । अलीले आफ्नो २५ ग्राम सुन नेपाल लगिदिए केही पैसा दिने बताए ।
२५ ग्राम सुन लैजानु अवैधानिक पनि थिएन । त्यसैले घर फर्किँदा सुन बोकिदिएवापत केही रकम आउँछ भने किन नल्याउने भन्ने उनलाई लाग्यो । “त्यसपछि मनसुरले भनेअनुसार मोबाइल नम्बर टिपेर सुन बोकेर आएको थिएँ”, सितेन्द्र भन्छन्, “काठमाडौं ओर्लिनेबित्तिकै फोन पनि गरेको थिएँ ।”
उनको भनाइमा, स्कुटरमा आएका एक व्यक्तिले त्यो सुन लगेका थिए । तर, अजिम अलीले सुन आफूले नपाएको भनि सितेन्द्रलाई आफू बस्ने डेरा सिनामंगलमा जबरजस्ती लगी कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई ४ लाख ८० हजार रकम दिएपछि मात्रै छोड्ने भनि धम्की दिएको पाइएको एसपी रेग्मीले बताउनुभयो ।                                  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार अर्कैले सुन लगेको खुलेपछि अली र अलाहीले सितेन्द्रलाई बन्धक बनाएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कोठाबाट उद्धार गर्दा उनलाई बाँधेर कुटपिट गरेर घाइते बनाएको अस्थामा भेटिएको थियो ।
“कुटपिट गरेर उनले राजविराजस्थित घरमा फोन गरेर ४ लाख ८० हजार रुपैयाँ पनि माग गरेछन”, भट्टराईले भन्नुभयो, “सोमबारकै घटना भएपनि प्रहरीसम्म मंगलबारमात्र खबर आइपुग्यो, लगत्तै प्राविधिक पक्षको विश्लेषण समेत गरेर अनुसन्धान थालेका थियौं ।”
स्रोतका अनुसार, उनीहरुले सितेन्द्रका परिवारका सदस्यलाई उक्त सुनको मूल्यबापतको पैसा दिनू भन्दै बैंक खाताको विवरण समेत पठाएका थिए । त्यसपछि प्रहरी अलीको सिनामंगलस्थित कोठामा पुगेको थियो ।
सुनको विषयमा छुट्टै अनुसन्धान भइरहेको एसपी भट्टराईले बताउनुभयो । “सुन कहाँ गयो, कसले लग्यो भन्ने विषयमा छुट्टै अनुसन्धान गरिरहेका छौं”, एसएसपी भट्टराई भन्नुभयो, “२५ ग्राम सुन ल्याउन मिल्ने भएपनि यो गिरोहले विभिन्न व्यक्तिलाई प्रयोग गरेर ल्याएको सुन काठमाडौंमा संकलन गर्ने गरेको जस्तो देखिन्छ ।”
पक्राउ परेका दुवै जनालाई अपहरण तथा शरीर बन्धकको कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको प्रहरीले जानकारी दिए ।