रोहनको ह्याट्रिकमा मध्यपुर थिमिको जित, क्वाटरफाइनलमा प्रवेश

भक्तपुर, बैशाख १७
मध्यपुर थिमि नगरपालिका प्रथम उपत्यकाव्यापी अन्तर पालिका स्तरीय गोदावरी मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सोमवार सम्पन्न खेलमा मध्यपुर थिमि टोखा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।
गोदावरी नगरपालिकाको चापागाउँस्थित टाखेल खेल मैदानमा जारी प्रतियोगितामा मध्यपुर थिमिलाई जित दिलाउन रोहन खड्गीले ह्याट्रिक गरे भने एक गोल यमन राजबहाकले गरे । मध्यपुर थिमिले खेलको पहिलो हापमा दुई र दोस्रो हापमा थप दुई गोल गरेको हो ।


खेलमा मध्यपुर थिमिलाई यमनले अग्रता दिलाएका थिए । त्यसपछि रोहनले गोल गर्दै मध्यपुर थिमिको अग्रता दोब्बर पारेका थिए ।
खेलको दोस्रो हापमा रोहनले थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टोलीलाई ४–० को जित दिलाए । रोहन खेलको म्यान अफ दी म्याच घोषित भए । उनले ट्रफीका साथै नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
उनलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए । मध्यपुर थिमिको खेल हेर्न नगर प्रमुख श्रेष्ठ, नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्य, वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोल, २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठ, ४ का वडाअध्यक्ष बालकृष्ण पात्या श्रेष्ठलगायतका जनप्रतिनिधिहरु, मध्यपुर युथ एशोसियसनका पदाधिकारीहरु टाखेल मैदान पुगेका थिए ।