गाईको बाच्छो काटेको अभियोगमा ३ जना पक्राउ

भक्तपुर, बैशाख १७
भक्तपुरमा गाईको बाच्छो काटेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित एचएम ईंटाभट्टामा काम गर्ने मजदुरहरु काभ्रेपलान्चोक महाभारत गाँउपालिका–१ का ४२ वर्षिय विर बहादुर रानामगर, काभ्रेपलान्चोक खानीखोला गाँउपालिका–१ का ३५ वर्षिय काशीराम लोप्चन र सिन्धुपाल्चोक हगामका ३४ वर्षिय च्याङ्बा तामाङ रहेका छन । उनीहरु ईंटाभट्टाको झ्याउलीमा बस्दै आएका थिए ।
ताथलीस्थित भद्र कुमारी खोलामा गाईको बाच्छो काटेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्नेक्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
सूचना प्राप्त भएपछि प्रहरी प्रभाग सुडाल र प्रहरी वृत्त जगातीको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा रगत र गोबर फेला परेको हुँदा प्रारम्भिक अनुसन्धान कार्य गरिएको डिएसपी कार्कीले बताउनुभयो ।
स्थानीयहरुको सहयोगबाट घटनामा संलग्नहरु एचएम ईट्टाभट्टामा काम गर्ने मजदुर भन्ने खुल्न आएकोले प्रहरी टोली अनुसन्धानका लागि एचएम ईट्टाभट्टा पुगेको थियो । प्रहरीले त्यहाँ करिव २ किलो मासु भट्टाको झ्याउली नजिकै आगोमा सेकाउदै गरेको अवस्थामा फेला पारेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई पशुपन्छि सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालत पेश गरी ५ दिनको म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको उहाँले बताउनुभयो ।