दोस्रो टि २० मा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग पराजित

भक्तपुर, बैशाख १७
वेस्ट इन्डिज ‘ए’ले नेपाल विरुद्धको दोस्रो टि २० खेल जित्दै शृंखला बराबरी गरेको छ । यसअघि शनिवार सम्पन्न पहिलो खेलमा नेपालसँग ४ विकेटले पाजित भएको वेस्ट इन्डिज ‘ए’ आइतवार सम्पन्न दोस्रो खेलमा नेपाललाई १० रनले पराजित गर्दै शृंखला बराबरी गर्न सफल भएको हो ।
आइतवार सम्पन्न दोस्रो खेलमा नेपालले बलिङमा अन्तिम २ ओभर र व्याटिङमा अन्तिम ३ ओभरमा लय गुमाउँदा पराजय भोग्नु परेको हो ।
टस जितेर पहिले व्याटिङ राजेको वेस्ट इन्डिज ‘ए’ १८ औं ओभरमा ११९–७ को अवस्थामा थिए । तर वेष्ट इन्डिसको टोलीले अन्तिम दुई ओभरमा ४१ रन जोड्दै कुल स्कोर १६० बनाउँदैं नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिए ।


वेस्ट इन्डिजका गुडाकेश मोतीले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन बनाए । उनी अविजित रहे। म्याथ्यू फोर्डे ११ रनमा अविजित रहे । आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । ३६ बल खेलेका उनले ३ चौका प्रहार गरे। रोस्टन चेज २३, जोनसन चार्ल्स ११ र केसी क्यार्थी १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २÷२ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।
पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्का सहित ७१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । पाचौं ओभरमा क्रिजमा पुगेका रोहितले अन्तिम सम्म रहेर टोलीलाई जित दिलाउने प्रयास गरेका थिए । तर अन्य ब्याटरको साथ पाउन नसक्दा उनले टोलीलाई पार लगाउन सकेनन ।

अन्तिम दुई ओभरमा २६ रन चाहिएकोमा नेपालले ओबेद म्याककोयको १९औ ओभरमा ९ रन बनायो । अन्तिम ओभरमा १७ रनको आवश्यकता रहेको थियो । तीब्र गतिका बलर म्याथ्यु फर्ड अन्तिम ओभर बलिङ गर्न आएका थिए ।
पहिलो बलमा रोहितले कुनै रन बनाउन सकेनन । दोस्रो बलमा भने उनले चौका प्रहार गरे । तेस्रो बलमा २ रन लिने क्रममा आकाश चन्द रन आउट हुन पुगे । चौथो बलमा सागर ढकालले रोहितलाई स्ट्राइक दिए । २ बलमा ११ रन चाहिएको अवस्थामा रोहितले दुवै बलमा रन बनाउन नसकेपछि नेपाल पराजित हुन पुग्यो ।
नेपालका शीर्षक्रमका ब्याटरको प्रदर्शन फेरी पनि सम्झनालायक रहेन । तेस्रो ओभरको पहिलो बलमा ओपनर लोकेश बम चोटका कारण मैदानबाट बाहिरिन पुगे । पुल शट खेल्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो । उनी १२ बलमा १७ रन बनाएर खेलिरहेका थिए । सोहि ओभरको चौथो बलमा अर्का ओपनर कुशल भुर्तेल आउट हुन पुगे । उनी २ रन बनाएर ओबेद म्याककोयको बलमा जोनसन चार्ल्सद्वारा क्याच आउट भएका थिए ।


अनिल शाह १ रन बनाएर पाचौँ ओभरको चौथो बलमा आउट भए । ओसेन थोमसको बलमा उनी विकेटकिपर आन्द्रे फ्लेचरद्वारा क्याच आउट भएर पेभेलियन फर्किए ।
त्यसपछि लोकेश पुनः फर्किए । तर उनले कुनै रन थप्न सकेनन । १६ बलमा १७ रन नै बनाएर गुडाकेश मोतीको बलमा उनी ठुलो शट खेल्ने क्रममा बोल्ड आउट भए । त्यसलगत्तैको बलमा कुशल मल्ल शुन्यमा रनआउट भए । पहिलो खेलमा पनि रनआउट हुँदै पेभेलियन फर्किएका उनी आज भने पहिलो बलमा नै आउट भएका थिए ।
नवौ ओभरमा गुलशन झालाई वेस्ट इन्डिज ‘ए’का कप्तान रोस्टन चेजले बोल्ड गरे । राम्रो सुरुवाट पाएका गुलशनले आउट हुनुअघि ११ बलमा ३ चौका र २ छक्का सहित २६ रन बनाउन भ्याए ।
सातौ नम्बरमा क्रिजमा पुगेका आरिफ शेखले पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन । छैठौं विकेटका लागि कप्तान रोहित पौडेलसँग ४३ रनको साझेदारी गरेपनि उनी १६ बल खेल्दै १२ रन मात्र बनाएर १५औ ओभरमा मोतीको शिकार बन्न पुगे ।
१६औ ओभरको तेस्रो बलमा दीपेन्द्र पनि सस्तैमा आउट हुन पुगे । ५ बलमा ३ रन बनाएर उनी म्याककोयको बलमा चेजद्वारा क्याच आउट भए । सोमपाल कामीले पनि ५ बल खेल्दै ३ रन मात्र बनाउन सके । उनी १८औ ओभरको पाचौं बलमा रनआउट भएका थिए ।
वेस्ट इन्डिजका लागि ओबेद म्याककोय र गुडाकेश मोतीले समान २–२ विकेट लिए । यस्तै ओशेन थोमस र रोस्टन चेज १–१ विकेट लिन सफल भए । शृंखलाको तेस्रो खेल बुधवार हुनेछ ।