माझखण्ड बुद्ध विहारमा अल्पकालिन श्रामणेरका साथै १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु

न्यूजअफ, ललितपुर, बैशाख १६ गते ।
माझखण्ड बुद्ध विहारमा १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु भएको छ । विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारको संयुक्त आयोजनमा भिक्षु बोधिज्ञान महास्थविरको निर्देशनमा सो ध्यान शिविर संचालन भएको हो ।

उक्त ध्यान शिविरमा ५ जना भन्ते लगायत अनागारिका गुरुमाका साथै आजै अल्पकालिन श्रामणेर भएका ६ जना एवं १ जना अनागारिका गुरुमा तथा उपासकउपासिकाहरु सहभागी छन् । जसमा एकजना अमेरिकी नागरिक पनि श्रामणेरका रुपमा सहभागी छन् ।

आज अल्पकालिन श्रामणेर बनाउन विहार नजिकैको चिहान डाँडा जंगलमा लगिएको थियो र विहारप्रमुख एवं उपाध्याय भन्ते बोधिज्ञान महास्थविरले १० शील प्रदान गर्नुभई उहाँहरुलाई श्रामणेर बनाउनु भएको हो । श्रामणेर बनाउने प्रक्रिया पूरा भएपछि सोही चिहान डाँडामा १ घण्टा ध्यान पनि बसाइएको थियो ।

ध्यान शिविर विहान ५ बजेदेखि राती ९ बजेसम्मको समय तालिका मिलाइएको छ र जसमा बसेर ध्यान गर्नुका साथै चंक्रमण ध्यानका एवं जंगलमा ध्यान पनि गराइनेछ ।
बुद्ध धर्म संघ जूम परिवारले सो शिविरका लागि आवश्यक सहयोग गरिरहेका छन् । सो शिविर बैशाख २५ गतेसम्म हुनेछ ।