मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्छ – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, बैशाख १६
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाण्डौं उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन शनिवार उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले मिडिया पूर्वाग्रही हुन नहुने बताउनुभएको हो ।
उहाँले नगरपालिकाले सुशासनलाई पहिलो प्राथमिकता दिएर स्वास्थ्य, शिक्षा, सहकारी लगायत सबै कानून निर्माण गरेर काम गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले सामुदायिक शिक्षमा मात्र २९ करोड रुपैयाँ बजेट छुट्याएर शिक्षकको दरबन्दी थपेको, दिवा खाजा कार्यक्रमलाई थप बजेट दिएको, स्थानीय पाठ्यक्रम अध्ययन गराएको भन्दै त्यस्ता कार्यलाई संचारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभयो ।


उहाँले भन्नुभयो, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मृगौला रोगीको डायलसिस सेवा गरिएको छ । सिटी स्क्यान सेवा शुरु गरिएको छ । एकल महिला, दलित र ज्येष्ठ नागरिकको स्वास्थ्य विमा गरिएको छ । खानेपानीमा आत्मनिर्भर भएको छ ।” उहाँले यसै वर्ष नेपाल पत्रकार महासंघसँग सहकार्य गरी नगरको स्थानीय सञ्चार नीति निर्माण गरेर सञ्चारमाध्यमको प्रवद्र्धनको लागि कार्य गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले स्थानीय टोलको नाम स्थानीय भाषामा राखेको, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यम र सञ्चारकर्मी मुलुकको जिम्मेवार संस्था र नागरिक भएको चर्चा गर्दै कहिले कहिँ एकतर्फीरुपमा आक्षेप लगाएर समाचार प्रकाशन हुँदा दुःख लाग्ने गरेको बताउनुभयो ।


उहाँले संचारमाध्यमले झुटो सूचना दिएर आफूलाई पीडित बनाएको भन्दै पत्रकारिता क्षेत्रमा व्यवसायिक मर्यादा नहुँदा नगरपालिकाले गरेका राम्रो कामको प्रचार प्रसार नसेकेको गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रमा बहुआयामिक चुनौतिहरु थपिएको भन्दै त्यसलाई सामना गर्ने गरी अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
“सामाजिक संजालको बढ्दो प्रयोग, मिडियामा लगानीको अभाव, लोककल्याणकारी विज्ञापनको दुरुपयोग, संचार कानूनको अभावले संचारमाध्यमले समस्या झेलिरहेका छन्,” बिष्टले भन्नुभयो, “गैरपत्रकारहरु महासंघबाट अलग नगर्दा पत्रकारहरुको मर्यादा र सम्मानमा धक्का लागेको छ । त्यसैले सदस्यता शुद्धिकरण आवश्यक भएको हो ।”


प्रेस सेन्टरका नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले संचार क्षेत्रमा देखिएका विकृतिलाई हटाउँदै महासंघमा सदस्यता शुद्धिकरणको अभियानालाई चाँडो टुंगामा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले महासंघमा सदस्यता शुद्धिकरण जरुरी भएको भन्दै सदस्यता टुंग्याएर मात्र अधिवेशन गर्नु पर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासंघका केन्द्रीय प्रतिनिधि शान्तराम विडारी, महासंघको बागमति प्रदेश अध्यक्ष शिवप्रसाद देवकोटा, श्रमजीवि पत्रकार संघका जन्मदेव जैशी, प्रेस चौतारी नेपालका हेमराज सिल्वाल, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, काठमाडौंका सूर्य सुवेदी, पत्रकार भावना विद्रोही, रत्न श्रेष्ठ लगायतले महासंघका सदस्यता शुद्धिकरण चाँडो टुंग्याउनु पर्ने, प्रदेशलाई सदस्यता नविकरणको अधिकार दिनु पर्ने सुझाव दिएका थिए ।
सो अवसरमा महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई रजत अभिनन्दन गरी सम्मान गरेको थियो ।

यसरी सम्मान पाउनेहरुमा डा.केशवप्रसाद देवकोटा, देवेन्द्र कोइराला, कालिदास बहादुर राउत, कालिका महत, मुक्तिनाथ वास्तोला, धनबहादुर मगर, नरोत्तम सुवेदी, प्रतिमा विवश राई, रामहरि चौलागाईं, भुवन वस्नेत, निरज रंजित, खड्ग वस्नेत, कल्पना शर्मा, रामप्रसाद पुडासैनी, डा. द्वारिका उप्रेती, घमराज लुुइँटेल, रामकला वुढाथोकी, दिपक प्रसाद चौलागाईं, दिपक सिल्वाल, उद्धव प्रसाद गौतम, चेतनाथ धमला, ताराचन्द्र देवकोटा, राममणि बराल, नरोत्तम सुवेदी र भविन्द्र कार्की रहेका छन् ।