राष्ट्रिय महिला भलिबलमा एपिएफ च्याम्पियन

भक्तपुर, बैशाख १६
नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतियोगिताको शनिवार सम्पन्न फाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ समग्रमा छैटौंपल्ट च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएपनि पुलिसले अपेक्षाकृत खेल पस्कन नसक्दा खेल सोझो सेटमा नै सकिएको हो । पुलिसले पहिलो र दोस्रो सेटमा एपिएफलाई बलियो चुनौती पेश गरेपनि तेस्रो सेटमा भने फितलो खेल पस्कियो ।
पहिलो सेटमा एपिएफ २५–२२ ले विजयी भयो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एक समय पुलिसले ११–५ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । एपिएफले पूनरागमन गर्दै खेललाई १२–१३ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए । त्यसपछि पुलिसलाई १५–१५ को बराबरीमा रोके ।
१९–१९ को बराबरीबाट एपिएफले २ अंकको अग्रता लिएपनि पुनः पुलिसले २२–२१ को अग्रता लिए । अन्ततः पुलिस एपिएफलाई २४–२६ ले नतिजा सुम्पन पुग्यो ।
तेस्रो सेटमा भने पुलिसको प्रदर्शन फितलो रहँदा एपिएफले २५–१९ को सहज जित निकाल्न सफल भयो । एपिएफकी पुजा चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
उपाधिसँगै एपिएफले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पारेको छ । तेस्रो भएको चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले १ लाख २५ हजार रुपैयाँ तथा चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरेको छ । डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।


यसैबीच च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् ।
व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व रह्यो । एपिएफकी कविता भट्ट सर्भर, जस्ना महतो सेटर र महेश चौधरी उत्कृष्ट प्रशिक्षक बने ।
पुलिसकी लक्ष्मी चन्द स्पाइकर र शान्तिकला तामाङ लिवेरो भन्दा न्यु डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर चुनिइन् । व्यक्तिगत विधाका सबै विजेताले समान २५ हजार रुपैयाँसँगै ट्रफी हात पारेका छन् ।