चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना सार्वजनिक

भक्तपुर, बैशाख १७
चाँगुनारायण नगरपालिकाले सोमवार वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०८० सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमु्ख जीवन खत्रीले सो कार्य योजना सार्वजनिक गर्नुभएको हो ।
‘सरसफाइ नै सभ्यता हो, यही भावना जगाऔं, सबै मिली चाँगुनारायणलाई हराभरा बनाऔं’ भन्ने नाराका साथ योजना सार्वजनिक भएको छ । देशका ७५३ स्थानीय तहहरु मध्ये चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो नगरपालिका बनेको छ ।
चाँगुनारायण नगरपालिका क्षेत्रको वायु गुणस्तर सुधारको लागि युएसएड स्वच्छ हावा परियोजना अन्र्तगत एफएचआइ ३६०, वातावरण र जनस्वास्थ्य संस्था (इन्फो)को प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर योजना–२०८० तयार भई सार्वजनिकीकरण गरेको हो ।
सो अवसरमा वायु गुणस्तर सुधारको लागि पहिलो चरणमा वायु गुणस्तर व्यवस्थापन योजना निर्माण गरिएको बताउँदै नगरप्रमुख खत्रीले योजना कार्यान्वयनको लागि सरोकारवाला पक्षहरुको भूमिका महत्वपूर्ण रहने बताउनुयभो । जसमा नगरपालिकाको नेतृत्व, सरोकारवाला पक्षहरु बीचको आपसी साझेदारी, समुदाय तथा नागरिकहरुको अपनत्व आवश्यक हुने नगर प्रमुख खत्रीको भनाइ थियो । योजना कार्यान्वयन गरि स्वच्छ र सफा नगरपालिका बनाउने अभियानमा सबै सरोकारवालाहरुको सक्रिय सहभागिताको लागि नगर प्रमुख खत्रीले आग्रह गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नगरपालिकाले आफ्नो आन्तरिक स्रोत साधनको साथै सहयोगी संघ संस्थाहरुको सहयोगमा यो तीन बर्षे कार्ययोजना तयार भएको र अव कार्यान्वयनको चरणमा अगाडि बढेको बताउनुभयो । कार्ययोजनाको कार्यान्वयनमा उहाँले सबैको थप साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
नेपालको संविधान २०७२ को धारा ३० ले सबै नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेको छ । दीगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा दीगो सरसफाई उन्मुख देश बनाउने लक्ष्यलाई साकार पार्न चाँगुनारायण नगरपालिकाले सबै वडा, टोल स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिहरु लगायत बहुसरोकारवालाहरुको सक्रियता र नेतृत्वदायी भूमिकालाई अगाडि बढाईरहेको छ ।


२०७९ पौष २४ गतेको १६ औं कार्यपालिका बैठकको निर्णयअनुसार यो वायु गुणस्तर व्यवस्थापन योजनाको लागि ५ सदस्यीय कार्यदल गठन भई कार्य प्रारम्भ भएको र कार्यदलले विभिन्न चरणमा नागरिक संजाल, ईट्टा उद्योग व्यवसायी, फोहोरमैला संकलन तथा व्यवस्थापन गर्ने सेवा प्रदायक संस्था, विद्यालय, स्वास्थ्यकर्मी जनप्रतिनिधि, विषयगत शाखालगायत सरोकारवाला व्यक्ति तथा संस्थाहरुसँग बैठक, समुहगत छलफल, अन्तरक्रियालगायतका कार्य गरी जनस्तरबाट राय सुझाव संकलन र पृष्ठपोषण लिने काम गरेको थियो ।
नगरपालिका क्षेत्रको वायु गुणस्तर सुधारको लागि नगरपालिकाले काठमाण्डौं उपत्यका वायु गुणस्तर योजना–२०७६, मा आधारित भएर चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर योजना २०८० तयार गरी गत वर्षको साउन २५ गते नेपाल सरकार, वातावरण विभागको प्रतिनिधिको साथै अन्य सरोकारवालाहरुको उपस्थितिमा योजनालाई थप पृष्ठपोषण सहित अनुमोदन गरी नगर कार्यपालिकाको २०८० श्रावण २५ गतेको कार्यपालिका बैठकबाट कार्य योजना स्वीकृत गरेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष जयन्द्र खड्का, शिक्षा शाखा प्रमुख बिर बहादुर खड्का, कार्यपालिका सदस्य कमला गिरी, स्वच्छ हावा संजाल चाँगुनारायणको अध्यक्ष रबिता कार्की, भक्तपुर ईट्टा उद्योग संघको अध्यक्ष नातिभाइ हेम्बाले बायु गुणस्तरको बिषयमा बोल्नु भएको थियो ।
एन्फोको प्रोजेक्ट म्यानेजर जयश्री राजभण्डारीले वायु गुणस्तर कार्य योजनाले समेटिएको मुख्य बिषयवस्तुहरु माथि प्रस्तुतीकरण गर्नु भएको थियो भने एन्फोको प्रोजेक्ट कोअर्डिनेटर सृजना शाक्यले नगरपालिकाले तयार गरेको वायु गुणस्तर योजनालाई आफ्नो संस्थाबाट कार्यान्वयनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु्भएको थियो । आगामी तीन वर्ष भित्र लक्ष्य पुरा गर्ने गरि वायु गुणस्तर सुधारको लागि मुख्यतया ६ वटा उदेश्यहरु योजनामा समाबेश गरिएको छ ।
विगत केही वर्ष यता बढ्न थालेको काठमाण्डौं उपत्यकाको वायु प्रदुषणले जनस्वास्थ्यमा ठूलो असर परि रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्याङ्क अनुसार काठमाण्डौं उपत्यकामा धुलोका कणहरुको बार्षिक औसत घनत्व डब्लुएचओको स्वास्थ्य निर्देशिकामा उल्लेख भएको भन्दा दश गुणा उच्च रहेको देखिन्छ ।
मूलत ः यातायातको साधन, फोहोर तथा खेतको सुकेको बोट जलाउने, ईट्टा भट्टा, कालकारखानाबाट निश्किएको धुवा, बाटो र निर्माण सामग्रीहरुबाट निश्किएको धुलो आदिलाई वायु प्रदुषण कारणको मुख्य रुपमा लिईन्छ । नेपालको तथ्याङ्क अनुशार वायु प्रदुषणले जनस्वास्थ्यमा अत्यधिक असर पारि रहेको छ जस अन्र्तगत बढ्दो फोक्सोको क्यान्सर र दीर्धकालिन स्वास प्रस्वास सम्बन्धी रोगहरु मुख्य रुपमा रहेका छन् । द स्टेट अफ ग्लोबल एअर २०२० ले सन् २०१९ मा वायु प्रदुषणका कारण अनुमानित ४२ हजार एक सय जनाको ज्यान गएको जनाएको छ । जुन सन् २०१५ (वि.स. २०७२) को महाभुकम्प भन्दा बढी छ । यसका साथै वायु प्रदुषण धेरै भएको क्षेत्रहरुमा बसोबास गर्ने कोभिड–१९ का विरामीहरुको मृत्यु हुने संभावना पनि उच्च रहेको प्रारम्भिक अध्ययनहरुले देखाएको छ । युएसएड स्वच्छ हावा परियोजनाको सहयोगमा योजना निर्माण गरिएको हो । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) लगाएतका साझेदार संस्थाहरु एफएचआई ३६०, एआइटी, इपिआइसी इन्डिया र वन टु वाच प्रा. लि. रहेका छन ।