ट्राफिक सचेतना विशेष अभियान सम्पन्न

भक्तपुर, बैशाख ९
सवारी दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनिकरणका लागि आयोजित साताव्यापी ट्राफिक सचेतना विशेष अभियान अन्तर्गत आइतवार भक्तपुरको टौमढीमा विशेष कार्यक्रम आयोजना गरी अभियानको समापन गरिएको छ ।
कार्यक्रममा नेपाल प्रहरी संगित विद्यालयका कलाकारहरुले विभिन्न सांगेतिक प्रस्तुतीमार्फत स्थानीय जनसमूदायलाई ट्राफिक नियम पालनाबारे सचेत पारिएको थियो । प्रहरीका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गर्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीका क्रियाकलाप, सडक सुरक्षा सम्बन्धी ट्राफिक नियम पालना गर्नुपर्ने सन्देश दिएका थिए ।


सो अवसरमा काठमाण्डौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोषराज पाखेरेलले सवारी दुर्घटनाबाट हुने धनजनको क्षतिलाई कम गर्ने र सडक सभ्यता अभिबृद्धि गर्ने उद्देश्यले गत बैशाख २ गतेदेखी शुरु गरिएको ट्राफिक सचेतना विशेष अभियान समापन भएपनि ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर सञ्चालन भइरहने बताउनुभयो ।
उहाँले ट्राफिक नियमको पालनाले मात्र पनि सडक दुर्घटनाबाट बच्न सकिने भएकाले सबैले ट्राफिक नियमको पालना गर्नेमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।


सचेतना विशेष अभियान अन्तर्गत ट्राफिक प्रहरी र स्वयम् सेवकहरुले पैदलयात्री, सडक प्रयोगकर्ता र सवारी चालकहरुलाई ट्राफिक नियम पालनामा सचेत गराईनुका साथै ट्राफिक नियम सम्बन्धी पोस्टर पम्पलेट वितरण गरिएको ट्राफिक प्रहरी वृत्त भक्तपुरका प्रमुख ट्राफिक प्रहरी निरिक्षक सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सवारी दुर्घटनाका कारण हरेक वर्ष करिव १३ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । जसमा ५ वर्षदेखी २९ वर्ष उमेर समूहका मानिसहरुका लागि सवारी दुर्घटना अकालमा मृत्यु हुनुको प्रमुख कारण बनेको छ । सवारी दुर्घटनाका कारण विश्वभरका देशहरुमा ठूलो मानवीय र आर्थिक क्षति व्यहोर्नु परेको छ ।
नेपालको सन्दर्भमा अव्यवस्थित सडक र ट्राफिक नियमको बेवास्ताका कारण भएको सवारी दुर्घटनाबाट उपत्यकामा मात्र विगत ३ वर्षमा ५४३ जनाले ज्यान गुमाएको काठमाण्डौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटनामा ७४४ जना गम्भिर घाईते भएका छन भने २३ हजार ६ सय भन्दा बढी घाईते र अर्बौको भौतिक क्षति भएको छ ।