सशस्त्रको नं. २२ गणमा मौसमी प्रकोप प्रतिकार्य अभ्यास भाग–२ सम्पन्न

भक्तपुर, बैशाख ९
सशस्त्र प्रहरी बलको नं. २२ गण हे.क्वा. गुहेश्वरीले सञ्चालन गरेको चार दिने ‘मौसमी प्रकोप प्रतिकार्य अभ्यास भाग २’ आइतवार सम्पन्न भएको छ । नं. २२ गण दुवाकोटमा सम्पन्न अभ्यासको अन्तिम दिन जिल्लास्थित सुरक्षा निकाय र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुलाई मौसमी प्रकोप प्रतिकार्य सम्बन्धी घटनाको प्रदर्शनी समेत गरिएको थियो ।
प्रदर्शनीमा पहिरोले घर लडेर घाईते भएकाहरुको खोज तथा उद्धार गरी उनीहरुलाई आवश्यक प्राथमिक उपचार पश्चात थप उपचारका लागि सम्बन्धीत अस्पताल लगिएको घटनालाई व्यवहारिकरुपमा उतारेर प्रदर्शनी गरिएको थियो । यसक्रममा भिरालो जमिनमा डोरीको सहायताले उद्धारकर्मी तथा सुरक्षाकर्मी घटनास्थल पुग्नुका साथै घाईतेहरुलाई पुनः डोरीकै सहायताले प्राथमिक उपचार केन्द्रमा ल्याउने, प्राथमिक उपचारपछि थप उपचारका लागि अस्पताल पठाउने घटना समेत प्रदर्शनी गरिएको थियो ।


यसैगरी आगलागीका घटनाको अभ्यास गरिएको थियो । सो अभ्यासमा पनि आगलागी भएको घरमा दमकलको सहायताले आगो नियन्त्रणमा लिने, आगलागीमा फसेकाको खोज तथा उद्धार गरी प्राथमिक उपचार स्थलमा ल्याउने, प्राथमिक उपचार गरी थप उपचार आवश्यकलाई सम्बन्धीत अस्पतालमा पुर्याउने व्यवस्था गरिएको थियो । साथै आगलागी घटनामा भएका क्षतिको विवरण संकलन र घटना मुचुल्का समेतको अभ्यास गरिएको थियो ।
सो अवसरमा बागमती प्रदेशका सभासद सुरेश श्रेष्ठले विपत प्रतिकार्य सम्बन्धी अभ्यास स्थानीय सरकारमार्फत स्थानीय स्तरमा लैजानुपर्ने बताउनुभयो । “विपतको घटनामा सबै भन्दा पहिला पुग्ने स्थानीय हुने र पिडित पनि स्थानीय नै हुने भएकाले विपत प्रतिकार्य सम्बन्धी दक्ष जनशक्ति स्थानीय स्तरमा उत्पादन गर्न यस्ता अभ्यास पनि स्थानीय स्तरमा गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले बागमती प्रदेश सरकारले विपत प्रतिकार्य योजनामा लगानी गरिरहेको र थप लगानीका लागि आफुले प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले प्राकृतिक र मानव सिर्जित विपतका घटनाको जोखिम न्यूनिकरणका लागि यस्ता अभ्यास नियमितरुपमा भइरहनुपर्नेमा जोड दिनुभयो । उहाँले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरेर जोखिम र क्षतिको अति न्यूनिकरण गर्न निरन्तर प्रयास भइरहेको जानकारी गराउँदैं विपतको क्षति न्यूनिकरणका लागि आवश्यक पूर्व तयारीका योजनामा तीनै तहको सरकारले बढी लगानी गर्नुपर्ने खाँचों औंल्याउनुभयो ।
शस्त्र प्रहरी बल ९ नं. पशुपतिनाथ बाहिनी मुख्यालय काठमाण्डौंका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रकाश थापाले विपतको न्यूनिकरण एक निकाय वा संस्थाले मात्र गर्न नसकिने बताउँदैं सबैको हातेमालो र सहकार्य आवश्यक भएको बताउनुभयो ।

अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा र आरएनए १६ को सहभागिता रहेको थियो ।