न्यायपालिका सुधारोन्मुख छ –प्रधानन्यायधिश श्रेष्ठ

भक्तपुर, बैशाख ९
प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारोन्मुख भइरहेको बताउनुभएको छ । भक्तपुर जिल्ला अदालतको नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न भवनको शनिवार उद्घाटन कार्यक्रममा प्रधानन्यायधिश श्रेष्ठले न्यायिक सुधारका पक्षमा पछिल्लो समयमा भएका प्रयास र उपलब्धीहरुबारे जानकारी गराउँदै अदालतको प्रविधिको उच्चतम प्रयोग गरी छिटो छरिटो न्याय सम्पादनमा जोड दिएको बताउनुभयो ।
“अदालतलाई प्रविधिमैत्री बनाइ सेवाग्राहीको काम र पहुँचलाई सहज बनाउने काममा जोड दिईएको छ । यसले समग्र न्याय सम्पादनमा समेत सुधार देखिएको छ,” उहाँले भन्नुभयो ।
सबै उच्च अदालतमा भिडियो कन्फसेन्समार्फत बहस गर्न मिल्ने बनाउन आवश्यक तयारी भइरहेको बताउँदै उहाँले भन्नुभयो, “सूचना प्रविधिको उच्चत्तम प्रयोगमार्फत अदालतको आधुनिकीकरणका लागि अबको प्राथमिकता सूचना प्रविधिको बहुआयामिक विकास र दिगो उपयोगमा केन्द्रित हुनुपर्छ ।”


न्याय सम्पादनको कार्यलाई छिटो छरिटो, गुणस्तरीय, प्रभावकारी बनाउन न्यायपालिकाले मुद्दा व्यवस्थापनलगायत विभिन्न पद्धतिगत सुधारहरुलाई आत्मसात गर्दै आएको उहाँले बताउनुभयो ।
नेपालको संविधानले कल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यतामा अक्षुण्ण राख्दै संविधानले प्रदान गरेको भूमिका र जिम्मेवारी पूरा गर्नेतर्फबाट सबैको ध्यान जान जरुरी रहेको बताउँदै उहाँले न्यायपालिकालाई न्यायको धरोहर र नागरिकहरुको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जिल्ला अदालत भक्तपुरको साविकको भवन धेरै पुरानो र अदालतको आवश्यकताको दृष्टिकोणबाट अपर्याप्त रहेको कुरालाई ध्यानमा राखी सर्वोच्च अदालतले भक्तपुर जिल्ला अदालतको नयाँ भवनको निर्माण कार्य अगाडि बढाएको स्मरण गराउनुभयो ।


आधुनिक र सुविधासम्पन्न भवनबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीहरुको सन्तुष्टिको स्तरमा वृद्धि हुने विश्वास व्यक्त गर्दै उहाँले नयाँ भवनबाट हुने न्याय सम्पादनले न्याय, सुशासन र जनआस्था वृद्धिमा थप उचाइ प्राप्त गर्नेमा सकारात्मक रहेको बताउनुभयो ।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराईले सर्वोच्च अदालतले निकै मेहेनतका साथ पुराना मुद्दाहरुको चाप घटाउँदै पारदर्शी ढंगले काम गर्दै आइरहेको बताउँदै सर्वोच्च अदालतले सार्वजनिक सरोकारका विषयहरुलाई प्राथमिकतामा राखी जिम्मेवारीपूर्वक काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले सर्वोच्च अदालतले संविधानको अभिभावकको भूमिका खेलिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबैको संयुक्त प्रयासले जिल्ला अदालतको विशाल र भव्य भवन निर्माण गर्न सम्भव भएको बताउँदै सेवाग्राहीहरुलाई निष्पक्ष, छिटो छरिटो र सुलभ न्याय दिएर भव्य महलको गरिमा कायम गर्ने जिम्मेवारी अदालतमा कार्यरत न्यायाधिस र कर्मचारीहरुमा आएको बताउनुभयो ।
सरकारी वकिल कार्यालय पनि अदालतसँगै भए सेवाग्राहीहरुलाई सहज हुने बताउँदै उहाँले भक्तपुर नपाले त्यसको लागि पनि पहल गर्दै आइरहेको बताउनुभयो ।
न्यायपालिकाले गरेको उत्कृष्ट निर्णयहरुले नै जनताको आस्था, विश्वास र न्यायपालिकाप्रति उच्च सम्मान प्राप्त गर्न सकिने बताउँदै प्रमुख प्रजापतिले जनताका हरेक अधिकार रक्षाको निम्ति अदालतले जहिल्यै पहरेदारको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


प्रमुख प्रजापतिले २०७४ सालको संसदीय निर्वाचन अघि प्रतिनिधि सभामा तीन प्रतिशत र प्रदेश सभामा साढे एक प्रतिशत मत सीमा (थे्रस होल्ड) को विरुद्धमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाई दायर मुद्दा अहिलेसम्म फैसला हुन नसकेको बताउँदै उहाँले ढिलो न्याय दिनु पनि अन्याय हो भन्नुभयो ।
नेपाल बार एशोसिएसन भक्तपुर जिल्ला अदालत बार इकाइ कार्य समितिका अध्यक्ष रविन्द्र प्रधानले जिल्ला अदालत भक्तपुरको सुविधासम्पन्न नयाँ भवनबाट प्रवाह हुने न्याय सम्पादनबाट जनता प्रत्यक्ष लाभान्वित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उच्च अदालत पाटनका माननीय मुख्य न्यायधीश नृपध्वज निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर जिल्ला अदालतका माननीय न्यायधीश बासुदेव न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले नवनिर्मित जिल्ला अदालत भक्तपुरको प्रतिवेदन वाचन गर्नुभयो ।
सो अवसरमा निर्माण व्यवसायी र भवन निर्माणमा संलग्न प्राविधिकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।