भक्तपुर बैशाख ३
भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा आइतवार धुमधाम र हर्षोल्लासका साथ बिस्का जात्रा मनाईएको छ । गत चैत्र ३० गते राती देखी शुरु भएको बिस्का जात्रा अन्तर्गतका विभिन्न जात्राहरु मध्ये आइतवार दिउँसो बोदेमा ‘म्ये प्वा खनेगु जात्रा’ (जिब्रो छ्ड्ने जात्रा) सकिएसँगै मध्यपुर थिमिमा मनाईने बिस्का जात्राका मुख्य जात्राहरु सम्पन्न भएको हो । यद्यपी यस क्षेत्रमा आज (सोमवार) पनि टोल टोलमा देवी देवताका खः (मन्दिर आकारको खट)सहित साना साना जात्राहरु भने हुँदैछ ।
मध्यपुर थिमिमा बनाईने बिस्का जात्राको मूख्य आकर्षण देवी देवताहरुको खः जात्रालुहरुले काँधमा बोकेर नगर परिक्रमा गराईनुका साथै एक आपसमा सिन्दुर छर्कनु हो । जात्रामा अत्याधिक सिन्दुर छर्कने भएकाले यसलाई स्थानीयले भुईसिन्ह (सिन्दुर) जात्रा पनि भनिन्छ । साथै जात्रामा देवी देवतामा ३२ खः हुने भएकोले नेपाल भाषामा सुईनिग खः (३२ खट) जात्रा पनि भन्ने गरिन्छ ।
जात्रा चैत्र ३० गतेदेखी राती देखी शुरु भएता पनि मध्यपुर थिमिको बिस्का जात्राको मूख्य जात्रा बैशाख २ गते बिहान थिमिको बालकुमारी परिसरबाट शुरु हुने सुथसिया जात्रा (बिहानको जात्रा) र बोदेको म्ये प्वा खनेगु जात्रा हो ।
सोही अनुसार आइतवार बिहान बालकुमारी परिसरबाट भव्य रुपमा सुथसिया भुईसिन्ह जात्रा शुरु भएको थियो । जात्रा शुरु हुनुअघि नगरका विभिन्न टोलका देवी देवताका खः जात्रालुहरुले चिलाखः बालेर धिमे, भुस्या, काँय्, छुस्या, नाय्खीँ बाजासहित बालकुमारी परिसरमा ल्याएका थिए ।
देवी देवताका सबै खः बालकुमारी ल्याईसकेपछि परम्परा अनुसारको पूजा विधि सकिएपछि पमा नाय्य (प्रधान नाईके)को अनुमतिमा जात्रा शुरु भएको थियो । जात्रा शुरु हुनु अघि देवी देवताको खः बालकुमारीमा जम्मा हुँदा धिमे, भुस्या, काँय् र छुस्या बाजाको तालले बालकुमारी गुञ्जायमान भएको थियो ।
जात्रा शुरु भएपछि लहरै देवी देवताका खः नगरपरिक्रमाका लागि निस्किएको थियो । जस अनुसार सबैभन्दा अघि बालकुमारीको खः रहेको थियो । जात्रा दिगुटोल पुगेपछि सिद्धिकाली माईको देवगण चपाचो क्षेत्र लगिएको थियो भने बालकुमारी, विष्णुवीर र दक्षिण बाराहीका देवगण दिगुटोलबाट पुनः बालकुमारीतर्फ फर्किएको थियो । त्यसपछि सिद्धिकाली, बालकुमारी, विष्णुवीर र दक्षिण बाराहीका देवगणको आ–आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि जात्रा सकिएको थियो ।
जात्रामा विभिन्न परम्परागत बाजा बजाउँदै देवी देवताका मूर्तिसहितको खःलाई नगर परिक्रमा गराउँदा जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवम् फूल बर्साएर स्वागत गरेका थिए ।
सुथसिया बिस्का जात्रा अन्तर्गत नै मध्यपुर थिमिको नगदेश क्षेत्रमा सिद्धि गणेशको खःलाई परम्परागत बाजागाजासहित नगर परिक्रमा गराई एक आपसमा सिन्दुर छर्केर जात्रा गरिएको थियो ।
यसैगरी बोदेको टिगनीमा निलबाराही, मध्यपुर थिमिको लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रा गरिएको थियो । त्यहाँ पनि सिन्दुर छर्केर हर्षोल्लासका बिस्का जात्रा मनाईएको हो ।
थिमिको बिस्का जात्राको अर्को आकर्षण हो बोदेको म्ये प्वा खनेगु जात्रा । यो जात्रा बैशाख २ गते दिउँसो शुरु हुन्छ । विशेष गरी थिमिमा मनाईने भुईसिन्ह जात्रा सकिएपछि बोदेमा म्ये प्वा खनेगु जात्रा शुरु गर्ने प्रचलन रहेको छ ।
सोही अनुसार आइतवार मध्यान्हदेखी बोदेमा मानिसको भिड बढ्दै गएको थियो । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खः जात्रा गरेर रमाउँदै गरेका स्थानीय र जात्रा हेर्न आएकाहरुको भिड मध्यान्हदेखि भने बोदेमा म्ये प्वा खनेगु जात्रा हेर्न जम्मा हुन थालेका थिए ।
यसवर्ष पनि बोदेका स्थानीय युवा सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर म्ये प्वा खनेगु जात्रालाई निरन्तरता दिएका थिए । उनले दोस्रो पटक जिब्रो छेडाएका हुन । गत वर्ष पनि उनै सुजनले जिब्रो छेडाएका थिए ।
जिब्रो छेडाउनु अघि सुजनले बोदेका सबै देवी देवताको मन्दिर पुगेर आर्शिवाद थापेका थिए । उहाँ पाचो गणेश मन्दिर अघि बनाएको मञ्च आएपछि उपस्थित सबैले जयजयकार गरे । मञ्चमा थिए यसअघि १२ पटक जिब्रो छेडाइसकेका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाएका जुजुभाई वाग श्रेष्ठ ।
सुजन मञ्चमा उक्लिएपछि आवश्यक विधि विधान पुरा गरी सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्र बाग श्रेष्ठले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले सयौं मानिसहरूकै अगाडि जिब्रो छेडिदिए ।
त्यसपछि सुजन सबैलाई नमस्कार र अभिवादन गर्दै चन्द्राँकारको भ्वाय् अर्थात महाद्वीप बोकेर बोदे शहर परिक्रमा गर्न निस्किनुभयो । सुजनलाई जिब्रो छेडाएका अनुभवी जुजुभाईदेखि स्थानीय समाजसेवी दिलकृष्ण प्रजापतिसमेतले दोस्रो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरेका थिए ।
नाय्खिं बाजाको साथमा भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी सुजन स्थानीय महालक्ष्मी मन्दिरमा पुगेपछि जात्रा गरि महालक्ष्मी स्थान पु¥याएको पाचो गणेशको रोहवरमा कर्मी नाइकेले सुइरो निकालेर प्वाँल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिन्छ । निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिदिन्छ । अन्तमा सुजनले नाटेश्वरको पूजा गरेपछि यसवर्षको म्ये प्वा खनेगु जात्रा सम्पन्न भएको हो ।
जिब्रो छेड्नेले व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र महिलालाई छुन नहुने परम्परा रहेको छ । यदि छोएमा जिब्रोे छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास रहेको पाइन्छ । जिब्रो स्थानीय श्रेष्ठ थरका व्यक्तिले मात्र छेड्न पाउने परम्परा रहेको छ ।