महोत्सवको समापनमा पत्रकार ढकाललाई सम्मान

भक्तपुर, बैशाख ३
भक्तपुरको सल्लाघारीमा सञ्चालित महोत्सवको समापनमा पत्रकार हेमराज ढकाललाई सम्मान गरेको छ । मेला आयोजक औद्योगिक शान्ति नेपालले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ढकाललाई नगद ५ हजारसहित सम्मान गरेको हो । ढकाललाई सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सम्मान गरेको हो ।
काभ्रेपलाञ्चोकको मन्दनदेउपुर जन्मिएर कर्मथलो भक्तपुर बनाएका पत्रकार ढकाल करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उहाँले समदूरी साप्ताहिक, सौर्य दैनिक, रातोपाटी डटकममा आवद्ध भएर काम गर्नुभएको छ भने हाल नयाँ नेपाल न्युज डटकमको कार्यकारी सम्पादकको रुपमा सक्रिय हुनुहुन्छ । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका ढकाल, प्रेस चौतारी भक्तपुरका अध्यक्ष र राष्ट्रिय संचार केन्द्रका सचिव समेत हुन् ।
मेलाको समापनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । नगरप्रमुख थापाले भलिबल खेलका प्रशिक्षक तथा पूर्व खेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई सम्मान गरिएको छ । खेलाडीहरुलाई जनही नगद रु.५ हजारसहित सम्मान गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो ।
गत चैत २२ गतेदेखी शुरु भएको आठौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आइतवार समापन भएको हो । महोत्सवमा करिब ८ करोड बराबरको कारोबार भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।