‘सि’ डिभिजनमा मनोहराको पहिलो जित

भक्तपुर, बैशाख ३
शहिद स्मारक ‘सि’ डिभिजन लिगमा मनोहरा युथ क्लवले आइतवार पहिलो जित निकालेको छ । लिगको आइतवार सम्पन्न दुई खेल मध्ये पहिलो खेलमा मनोहराले स्पोर्ट्स एकेडेमी साँगा माथि ३–२ को जित हासिल गरेको हो ।
मनोहराको जितमा उत्तम शाही, विश्रान्त मगर र आविष्कार खड्काले समान १–१ गोल गरे । साँगाका लागि स्यामुएल सुनार र विकास परियारले १–१ गोल फर्काएका थिए ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा मनोहराका लागि खेलको ५ औं मिनेटमा उत्ता शाहीले गोल गर्दै अग्रता दिलाएका थिए । १५ औं मिनेटमा विश्रान्त मगरले गोल गर्दै मनोहराको अग्रता दोव्वर पारे ।
साँगाका स्यामुएल सुनारले पेनाल्टीमा गोल गर्दै गोल अन्तर कम गरे । आविष्कार खड्काले पनि पेनाल्टीमा गोल गर्दै मनोहरालाई ३–१ ले अगाडि बढाए । दोस्रो हापको इन्ज्युरी समयको पहिलो मिनेटमा विकास परियारले गोल गर्दै मनोहरासँगको गोल अन्तर कम गरे पनि साँगाको हार टार्न सकेन ।
पहिलो खेलमा हार बेहोरेको मनोहराले २ खेलमा ३ अंक बटुलेको छ । साँगाको पनि २ खेलमा ३ अंक रहेको छ ।
त्यसैगरी दोस्रो खेलमा झम्सिखेल युथ क्लबले गोलबजार स्पोर्ट्स क्लब माथि ४–० को जित हासिल ग¥यो । झम्सिखेलका लागि ओम धामी, सञ्जय रम्तेल, अजय वाइबा र विक्की महर्जनले १–१ गोल गरे । दुई खेलमा झम्सिखेलले पहिलो अंक जित हासिल गरेसँगै ३ अंक पुगेको छ । गोलबजारको भने २ खेलमा १ अंक रहेको छ ।
सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५० हजार रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५ हजार रुपैयाँ पाउने छन् ।