लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईयो

भक्तपुर, बैशाख २
मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईएको छ । प्रजापति टोलस्थित स्थानीय सिद्धिकाली मन्दिर परिसरबाट शुरु भएको जात्रा वडा नं. १ को विभिन्न टोलको परिक्रमा पछि पुनः सिद्धिकाली मन्दिर परिसर पुगेर समापन भएको थियो ।
जात्रामा स्थानीय बालबालिका, महिला, पुरुष, ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । जात्रालुहरुले एकआपसमा भुईसिन्ह (सिन्दुर) छर्केर खुसियाली साटासाट गरेका थिए ।


मध्यपुर थिमि क्षेत्रमा मनाईने बिस्का जात्रामा जात्रालुहरुले एकआपसमा भुईसिन्ह छर्कने भएकाले स्थानीय भाषामा यो जात्रालाई भुईसिन्ह जात्रा पनि भनिन्छ । यहाँ टोल टोलबाट विभिन्न देवी देवताको खः जात्रा गरिन्छ । जात्रामा ३२ खः समावेश हुने भएकाले स्थानीयले स्विनिखः जात्रा पनि भन्ने गर्दछ ।
लोहकिल्थलीका नेवार समूदाय मध्ये भोखाडोल धिमे खलःका समूदाय विगतमा आफ्नो धिमे बाजासहित बैशाख १ गते साँझ थिमिको सिद्धिकाली मन्दिर परिसर पुगेर जात्रामा सहभागी हुने र बैशाख २ गतेको जात्रा सकिएपछि धिमे बाजासहित फर्कने परम्परा थियो ।
तर २०६७ सालको बिस्का जात्रादेखी लोहकिल्थलीमा नै सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाउन थालेको बिस्का जात्रा व्यवस्थापन मूल समितिका सचिव रत्न प्रजापतिले जानकारी दिनुभयो ।