भक्तपुर, बैशाख २
भेट्टाएको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेर लाखौं ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमान श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक छन् ।
उनीहरुलाई सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गर्ने र पार्सल तथा डलरहरु आएको छ भन्दै विश्वास दिलाएर भन्सार चार्ज भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताउनुभयो ।
घटना विवरण अनुसार सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकता भेट्टाएकी थिइन् । उक्त नागरिकताको फोटो उप्काएर सन्जुले आफ्नो फोटो टाँस गरिन् । र सोही नागरिकताको आधारमा उनले विभिन्न बैंकहरुमा १६ वटा खाता खोलिन् ।
त्यसपछि ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी काउन्सेलिङ गर्दै पार्सल पठाएको, चिट्ठा परेको, डलर पठाएको जस्ता प्रलोभन पारी ठगी गरेको खुलेको रेग्मीले बताउनुभयो । “पीडितहरुलाई नक्कली नागरिकताको आधारमा खोलिएको बैंक खातामा रकम हाल्न लगाएर ठगी गरेको देखिएको छ,” उहाँले भन्नुभयो ।
उनीहरुले ठगी गर्ने क्रममा अलग अलग मोवाइल सिमकार्ड प्रयोग गरेको समेत खुल्न आएको छ । “सो समूहले एक जनाबाट रकम ठगी गरिसकेपछि उक्त सीमकार्ड अर्को पटक प्रयोग नगरेको देखिएको छ,” एसपी रेग्मीले भन्नुभयो ।
सन्जुले यो शैलीमा विगत दुई वर्षदेखि ठगी गर्दै आएको खुलेको एसपी रेग्मीले बताउनुभयो । सन्जुले पीडितहरुलाई आफु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कुरियर सिनियर अधिकृत रहेको भन्दै परिचय दिने गरेकी थिइन् । सन्जुले रश्मीको मात्रै नभएर अरुको समेत नागरिकता दुरुपयोग गरी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
ठगी आरोपमा सन्जुसँगै पक्राउ परेका उनका श्रीमान निश्चलले पनि भारतीय आधार कार्ड समेत लिएको खुलेको छ । हालसम्म श्रीमान–श्रीमती मिलेर ६० लाख ५५ हजार ठगी गरिसकेको खुलेको छ ।
उनीहरुबाट विभिन्न व्यक्तिका ६ थान नागरिकता, एनसेलका २६ थान सीमकार्ड, भारतीय सीमकार्ड १ थान, विभिन्न बैंकको ८ थान एटीएम, चेकबुक ११ थान, बैंक तथा सहकारीमा डिपोजिट गरेको १८ थान स्लीप, ६ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।