मध्यपुर थिमिको आयोजनामा ६७ औं सहकारी दिवसमा प्रभातफेरी

भक्तपुर चैत्र २०
‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने राष्ट्रिय मूल नाराका साथ मध्यपुर थिमि नगरपालिकाले मंगलवार ६७ औं सहकारी दिवस मनाएको छ । सहकारीप्रति नगरवासीलाई जागरुक बनाउने उद्देश्यसहित मध्यपुर थिमिले यसवर्ष बृहत कार्यक्रम आयोजना गरी सहकारी दिवस मनाएको हो ।
नगदेशको छ्वासटोलमा आयोजित मूल समारोहको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सहकारीहरुलाई व्यवस्थित गर्न अर्को सातादेखी सहकारी अनुगमनलाई तिव्र रुपमा सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले सहकारीहरुलाई नियमन र व्यवस्थित गरी वचतकर्ताको वचत सुरक्षित गर्न नगरपालिकाले सहकारी ऐन र नियमावली कार्यान्वयनमा ल्याईसकेको बताउँदैं सहकारीहरुको समस्याको रुपमा रहेको ऋण असुलीलाई सहज बनाउन नगरपालिकाले सहकारीहरुको ऋणको साँवा व्याज समयमा नतिर्ने वचतकर्तालाई स्थानीय सरकारको सेवामा रोक लगाउने सम्मको व्यवस्था भएको जानकारी दिनुभयो ।


“सहकारीहरुलाई व्यवस्थित गर्न नगरपालिकाले लागि परेको छ । सहकारीका ऋणीहरुलाई समयमा सावाँ व्याज भुक्तानी गर्न सार्वजनिक सूचना समेत जारी गरिसकेका छौं,” उहाँले भन्नुभयो ।
उहाँले सहकारीकै कारण धेरैले आफ्नो जिविकोर्पाजनमा सहज महसुश गरेको भएता पनि केही सहकारी सञ्चालनहरुको बदमासीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम हुनु र सहकारी प्रति आम नागरिकको विश्वास घट्नु चिन्ताको विषय भएको बताउनुभयो ।


उपप्रमुख विजयकृष्ण श्रेष्ठले सरकारीका समस्यालाई सम्बोधन गर्न नगरपालिका तयार रहेको बताउँदैं सहकारी सञ्चालकका कारण वचतकर्ताको वचत असुरक्षित भए नगरपालिकाले चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवम् सहकारी रजिष्ट्रार राम बहादुर केसीले सहकारीहरुका आफ्ना गल्ती र कमीकमजोरीले गर्दा पनि सहकारीमा समस्या आएको बताउँदैं त्यस्ता गल्ती र कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभयो ।


कार्यक्रम अघि नगरका विभिन्न स्थानबाट सहकारीकर्मीहरुले साँस्कृतिक झाँकीसहित प्रभातफेरी गर्दै वडा नं. ७ नगदेशको छ्वासटोल आईपुगेका थिए । मध्यपुर थिमि नगरपालिकाको सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जितका अनुसार वडा नं. १, २ र ३ का सहकारीहरु सानो थिमि, वडा नं. ४, ५ र ६ का सहकारहरु बालकुमारी मन्दिर परिसर र वडा नं. ७, ८ र ९ का सहकारीहरु बोदेको चारदोवाटो चोकमा जम्मा भई प्रभातफेरी गर्दै नगदेश आइपुगेको हो ।
कार्यक्रममा मध्यपुर थिमिका ११९ वटा सहकारीका करिव ३ हजार जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । प्रभातफेरीमा सहभागी सहकारी संस्थाहरुको उपस्थितीको मूल्यांकन गरी उत्कृष्ट पहिलो, दोस्रो, तेस्रो र सान्त्वना छनोट गरी पुरस्कृत गर्ने व्यवस्था समेत गरिएको छ ।