नयाँ शैक्षिक सत्रमा विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाउने

लक्ष्मी गारु, भक्तपुर, चैत्र १९
नयाँ शैक्षिक सत्र २०८१ मा विद्यार्थीहरुले भर्नासँगै पाठ्यपुस्तक पाउने भएको छ । सधै पाठ्यपुस्तक छपाई गर्न ढिलाई गर्ने जनक शिक्षा सामग्री केन्द्र लि.ले यसवर्ष समयमा पाठ्यपुस्तक छपाईको काम सकाएकोले विद्यार्थीहरुले भर्नासँगै पुस्तक पाउने अवस्था बनेको हो ।
केन्द्रले चैत्र १५ गतेदेखी आफ्ना बिक्रि केन्द्रहरुबाट पाठ्यपुस्तक बिक्रि खुल्ला गरिसकेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी रवीन्द्रकुमार शर्माले पहिलो चरणमा हिमाली जिल्लाहरुमा पुस्तक बिक्रि खुल्ला गरिएको जानकारी दिनुभयो ।
दोस्रो चरणमा पहाडी जिल्लाहरुमा तेस्रो चरणमा तराई मधेशका जिल्लाहरुमा पुस्तक बिक्रि वितरण खुल्ला गरिनेछ । यसवर्ष चैत्र २८ गतेसम्म विद्यालयहरुमा पुस्तक पुर्याएर भर्नासँगै विद्यार्थीहरुका हातहातमा पुस्तक पुर्याउने लक्ष्य रहेको शर्माले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक जिल्लामा ५ देखी ७ वटा पुस्तक बिक्रेताहरु छन । ती बिक्रेताहरु मार्फत पाठ्यपुस्तक विद्यालयमा पुग्छन र विद्यार्थीहरु भर्ना सँगसँगै पुस्तक प्राप्त गर्छन । त्यसका लागि प्रदेश कार्यालय मार्फत बिक्रेताहरुलाई सूचना गरिसकेको शर्माले बताउनुभयो ।
“प्रदेश कार्यालय मार्फत बिक्रेतालाई सूचना गरिसकेको छ । पहिलो चरणमा हिमाली १७ जिल्लामा पुस्तक वितरणको कार्य हुन्छ,” उहाँले भन्नुभयो । केन्द्रका काठमाण्डौं उपत्यका बाहेक सात प्रदेशमा ८ वटा बिक्रि केन्द्रहरु छन ।
जसमा विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी रहेका छन । उपत्यकामा केन्द्रीय कार्यालय सानोथिमि बिक्रि केन्द्र रहेको छ ।
कोशी प्रदेशको विराटनगरबाट मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, झापा, इलाम, ताप्लेजुङ्ग, पाँचथर र उदयपुरमा पुस्तक बिक्रि हुने शर्माले जानकारी दिनुभयो ।
जनकपुरबाट धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा, सप्तरी, उदयपुर, ओखलढुंगा र खोटाङमा पुस्तक बिक्रि हुन्छ भने केन्द्रीय कार्यालय सानोथिमिबाट काठमाण्डौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सोलुखुम्बु, धादिङ, रसुवा, सिन्धुली, ओखलढुंगा र खोटाङमा पुस्तक बिक्रि हुन्छ ।
यसैगरी भरतपुर बिक्रि केन्द्रबाट चितवन, तनहुँ, मकवानपुर, पर्सा, रौतहट, बारा, पुर्वी नवलपरासी, पोखरा बिक्रि केन्द्रबाट कास्की तनहुँ, मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, पर्वत, बाग्लुङ्ग, म्याग्दी र स्याङजामा पुस्तक बिक्रि गरिन्छ ।
बुटवल बिक्रि केन्द्रबाट रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, नेपालगञ्ज बिक्रि केन्द्रबाट बाँके, हुम्ला, डोल्पा, बर्दिया, दाङ, पश्चिम रुकुम, जाजरकोट, सल्यान, पुर्वी रुकुम र रोल्पाका पुस्तक बिक्रि हुने शर्माले बताउनुभयो ।
यस्तै सुर्खेतबाट सुर्खेत, कैलाली, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, अछाम, बाजुरा, हुम्ला, डोल्पा, धनगढी बिक्रि केन्द्रबाट कैलाली, बैतडी, बाजुरा, डडेल्धुरा, बझाङ, दार्चुला, डोटी, कञ्चनपुर र अछाममा पुस्तक बिक्रि वितरण हुनेछ ।
केन्द्रले अहिले दैनिक १२ घण्टा र आवश्यकता अनुसार २४सैँ घण्टा पनि छापाखाना सञ्चालन गरेर दैनिक एक लाख २० हजार थान पुस्तक छपाइ गरिरहेको छ । नयाँ शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ६० लाख भन्दा बढी पाठ्यपुस्तक छपाइ सकेको र बाँकी पुस्तक केही दिनमा छपाइ सम्पन्न गर्ने शर्माले बताउनुभयो ।
केन्द्रले यसवर्ष कक्षा ५ को थप पुस्तक छपाई गर्ने जिम्मेवारी पाएको छ । चालु शैक्षिक सत्रको लागि गतवर्ष कक्षा ६ देखी १२ सम्मको पुस्तक छपाईको जिम्मेवारी पाएको केन्द्रले शैक्षिक सत्र शुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ को पुस्तक छाप्ने थप जिम्मेवारी दिएको हो ।
“पहिले जिम्मेवारी पाएको कक्षा ६ देखी १२ सम्मको पुस्तक छपाईको काम सकिसकेको छ । कक्षा ५ को पुस्तक छपाई गर्ने जिम्मेवारी अलि ढिलो पाएको हो । तैपनि हामी कक्षा ५ को पनि पुस्तक छपाईको काम अन्तिम चरणमा पुर्याएका छौं,” शर्माले भन्नुभयो, “जसरी यसअघि समयमै सम्बन्धित ठाउँमा पुस्तक पुग्यो, त्यसैगरी नयाँ शैक्षिक सत्रका लागि पनि पुस्तक पुग्छ, कुनै पनि हालतमा ढिलाइ हुँदैन । यसमा हामी प्रतिबद्ध भएर काम गरिरहेका छौँ ।”
शर्माले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ समयमा खरिद गरिएको आवश्यक दक्ष जनशक्ति पनि समयमा पदपुर्ती गरिएकाले यो वर्ष प्राप्त जिम्मेवारी समयमा पुरा गर्न सकिएको बताउनुभयो ।
उहाँले शैक्षिक सत्र २०८२ का लागि पनि समयमा जिम्मेवारी पाए कक्षा १ देखी १२ सम्मको पुस्तक छाप्न केन्द्र तयार रहेको बताउनुभयो ।
केन्द्रले पाठ्यपुस्तकका अलावा निर्वाचन आयोगको मतपत्र, हुलाक टिकट, अन्तशुल्कको स्टिकर, एसईईको प्रश्नपत्र, जग्गाधनी पुर्जासमेत छपाई गर्दै आइरहेको छ ।