चाँगुनारायण नगरपालिकामा समूदाय स्तरमा प्रथम उद्धारकर्ता तयार

भक्तपुर, चैत्र १९
चाँगुनारायण नगरपालिकाले विपदका बेला खोज तथा उद्धारका लागि स्थानीय स्तरमा प्रथम उद्धारकर्ताहरु तयार पारेको छ । वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि तालिम प्राप्त ती उद्धारकर्ताहरु तयार पारेको हो ।
चाँगुनारायण नगरपालिकाले चैत्र ४ गते देखि १४ गतेसम्म विभिन्न ३ समुहमा प्रशिक्षण चलाएर वडा नं १ देखि ९ सम्मका विपद् व्यवस्थापन प्रथम उद्धारकर्ता स्वयंसेवकहरु तयार पारेको हो ।
तीन समुहमा तीन दिनका दरले ९ दिन सम्म सञ्चालन भएको प्रशिक्षणमा ३० महिला र ५१ पुरुष गरी ८१ जनाको सहभागिता रहेको प्रशिक्षणको संयोजक चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापाले बताउनुभयो । सैद्धान्तिक र प्रयोगात्मक सीपको समेत अभ्यास गरिएको प्रशिक्षणमा प्रशिक्षकहरु शिबराम गौतम, राजुमार लम्साल, ऋषि खड्का, दिवाकर पौडेल, कविता बुढाथोकी लगायतले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका प्रगति र प्रयासहरु , खोज तथा उद्धारको परिचय, खतराको प्रकार र यसका विशेषताहरु, खोज तथा उद्धारको संरचना र टोली निर्माण, खोज तथा उद्धारका उपकरणहरु सुरक्षित र सुरक्षा, घटना आदेश प्रणाली, आधारभूत खोज विधि, संचार, समन्वय र प्रतिवेदन, आगोजन्य आपत्काल, उद्धारमा डोरीको प्रयोग अभ्यास, बाढी, पहिरो र भूकम्पको अवस्थामा बाहिर निकाल्ने तरिका अभ्यास, प्राथमिक उपचार परिचय, उद्धेश्य र सिद्धान्त, प्राथमिक उपचारका चार चरणहरु, स्वास्प्रश्वास समस्या (सि.प.िआर), रक्तश्राबको प्राथमिक उपचार, भँचाईको प्राथमिक उपचार, घाइतेको ओसारपसारजस्ता विषयहरुका बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको थियो ।


प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विपद् उत्थानशील चाँगुनारायण बनाउने उद्धेश्यका साथ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको बताउनुभयो । उहाँले विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्ने भनेको समुदायका मानिसहरुनै हुने भएकाले समुदायका मानिसहरुलाई प्राथमिक उपचार, खोज तथा उद्धारका ज्ञान र शीप प्रदान गरी तयारी अवस्थामा राख्नको लागि नगरपालिकाले प्रथम उद्धारकर्ता प्रशिक्षण संचालन गरेको बताउनुभयो । उहाँले तालिमप्राप्त स्वयंसेवकहरु नगरपालिकाको पनि सम्पत्तिको रुपमा रहनु भएकोले निरन्तर रुपमा उहाँहरुको क्षमता अभिबृद्धि गर्ने तर्फ नगरपालिका सदैब लागिपर्ने कुराको प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
आधारभूत प्रशिक्षण लिएर कार्य गर्नहुने स्वयंसेवकहरुमध्येबाट छनौट गरी कम्तीमा २५ जनालाई सशस्त्र प्रहरीबलसंगको सहकार्यमा अग्रवर्ती प्रशिक्षणमा सहभागी गराइने जानकारी पनि नगर प्रमुखले दिनुभयो । नगर प्रमुख खत्रीले विपद्को अवस्थामा खटिने स्वयंसेवहरुको लागि नगपालिकाले निःशुल्क विमा गर्नुका साथै न्यूनतम सुविधा उपलब्ध गराउने जानकारी पनि गराउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकी सदस्य निर्मला के.सी, चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रसाद प्रधानलगायतले आगलागी तथा बन डढेलोका घटनाहरु भइरहेकाले यस तर्फ समुदायमा मानिसहरु सचेत हुन आग्रह गर्नुभयो ।