बोदेको यस वर्षको बिस्काः जात्रामा २९ वर्षिय सुजनले जिब्रो छेडाउने

भक्तपुर, चैत्र १८
प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा अन्तर्गत प्रत्येक वर्ष बैशाख २ गते मध्यपुर थिमिको बोदेमा हुने ‘म्ये प्वा खनेगु जात्रा’ (जिब्रो छ्ड्ने जात्रा)मा यस वर्ष स्थानीय २८ वर्षिय सुजन बाग श्रेष्ठले जिब्रो छेडाउने भएका छन ।
गत वर्ष पहिलो पटक जिब्रो छेडाएका सुजनले यस वर्ष पनि जिब्रो छेडाएर जात्रालाई जिवन्त राख्ने निर्णय गर्नुभएको स्थानीय समाजसेवी दिलकृष्ण प्रजापतिले बताउनुभयो । सुजनले दोस्रो पटक जिब्रो छेडाउन लाग्नुभएको हो ।
यसअघि उहाँका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैं आउनुभएको थियो । गत वर्ष जात्रालाई पुस्तान्तरण गर्दै सुजनले जिब्रो छेडाउने निर्णय गर्नुभएको थियो ।
बिस्काः जात्रामा बैशाख २ गते बोदेको पाचो गणेश मन्दिर परिसरबाट जिब्रो छेड्ने जात्रा शुरु हुन्छ । करिव एक फिट लामो सुईरोले जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिले बाँसले निर्माण गरिएको भ्यय् (बत्तिसहितको बाँसले निर्माण गरिएको अर्धचन्द्रकार महादिप) काँधमा बोकेर बोदे शहर परिक्रमा गर्नुपर्दछ ।
सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छ्डेर जात्रालाई निरन्तरता दिनुभएको थियो भने सुजनका माइलो बुवा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाउनुभएको थियो ।
बुद्धकृष्णले पहिलो पटक २०६१ साल जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उहाँले २०६४ सालसम्म लगातार चार पटक जिब्रो छेडाउनुभयो । २०६५ सालमा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाई बासँ श्रेष्ठले जिब्रो छेडाउनुभयो ।
जुजुभाईले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभयो । २०७३ सालमा जुजुभाईले जिब्रो नछेड्ने घोषणा गर्नुभयो । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैं आउनुभएको थियो ।
जात्राको हालसम्म प्राप्त प्रमाण अनुसार विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन पटक, २०२७ र २०२८ मा इन्द्रबाटा श्रेष्ठले दुई पटक जिब्रो छेडाउनुभएको तथ्यांक छ ।
त्यस्तै २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको ईतिहास रहेको छ .