पुष्पा र विजयले जिते किसुन जी स्मृति हाफ म्याराथन

भक्तपुर, चैत्र १७
तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि एपिएफकी पुष्पा भण्डारी र विजय रावतले जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिले शनिवार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा पुष्पा महिला र विजय पुरुषतर्फ विजयी भएका हुन् ।
पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन दोश्रो भएकी राममाया बुढाले १ घण्टा ३३ मिनेट १२ सेकेन्ड समय निकालिन् । १ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा शुशान कार्की तेश्रो बनिन् ।
पुरुषतर्फ विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । १३ औं सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्ड समयका साथ दोश्रो भए । हङकङमा भएको तेश्रो एसियाली युथ (यु–२०) एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डमा तेश्रो भए ।
दुवैतर्फका विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरे ।
पुरुष ५ किलोमिटर दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहे । विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोश्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेश्रो भए ।
५ किमी महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाउदै सर्मिला बस्नेत पहिलो भइन् । २६ मिनेट ०९.३४ सेकेन्डमा सुस्मु डोल्मु तामाङ दोश्रो तथा ३२ मिनेट ३४.३६ सेकेन्डमा दिविका गुरुङ तेश्रो भए । दुवै समूहका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेश्रोले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
विजेतालाई पूर्व मन्त्री धनराज गुरुङ, पूर्व प्रदेश सांसद् राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कृत गरे ।