एसईई आजबाट, देशभर ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने

भक्तपुर, चैत्र १५
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि शुरु हुँदै छ । चैत्र २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी रुपन्देहीबाट चार जना, पर्सा र सप्तरीबाट दुई÷दुई जना तथा सुर्खेत, बाँके, दाङ, चितवन, गोरखा, खोटाङ र इलाम सुर्खेतबाट एक÷एक जना छन् ।
एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन् ।
यस वर्ष बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुनेछन् । त्यस्तै मधेश प्रदेशबाट ८१ हजार ३ सय १७, लुम्बनी प्रदेशबाट ७९ हजार ५ सय १६, कोशी प्रदेशबाट ७७ हजार ४ सय १५, सुदुरपश्चिम प्रदेशबाट ५५ हजार ७ सय ६८, गण्डकी प्रदेशबाट ४० हजार ९ सय ७७ विद्यार्थी छन्। सबैभन्दा कम कर्णाली प्रदेशबाट ३९ हजार ६ सय ६८ विद्यार्थी सहभागी हुनेछन् । यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डले २ हजार ६४ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक र सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा खटाएको परीक्षा नियन्त्रक पौडेल बताउनुभयो ।
भक्तपुरमा ६ हजार ७५ परीक्षार्थी, २४ परीक्षा केन्द्र


यस वर्ष भक्तपुरबाट एसईईमा ६ हजार ७५ परीक्षार्थी सहभागी हुने भएका छन् । सो संख्या गत वर्षभन्दा बढी हो । गत वर्ष ५ हजार ९ सय २७ जना परीक्षार्थी सहभागी थिए ।
यस वर्षका लागि २४ परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास तगा समन्वय ईकाई भक्तपुरले जनाएको छ । ईकाई प्रमुख कमला ज्ञवालीले साधारण, प्राविधिक र ग्रेडवृद्दि समेतका विद्यार्थी गरि यो वर्ष ६ हजार बढी परीक्षार्थी सहभागी हुने बताउनुभयो ।
कक्षा ११ भर्ना हुन कम्तिमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने
विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक पौडेलले एक सय पूर्णाङ्कको परीक्षामा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्ने जानकारी दिए । उनका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।