जनप्रतिनिधिले गठबन्धन होइन जनताको अवश्यकता हेरेर काम गर्नुपर्छ – सांसद थापा (फोटो फिचरसहित)

भक्तपुर, चैत्र १४

सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले गठबन्धन होइन जनताको आश्यकता हेरेर काम गर्नुपर्ने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा बुधवार बोदेमा आयोजित कार्यक्रममा सांसद थापाले निर्वाचनमा दलगत रुपमा उम्मेदवार बनेपनि निर्वाचित भएपछि जनताको प्रतिनिधि हुने भएकाले गठबन्धनमा कुन कुन दल छन भन्ने हिसावले नभई जनताको आवश्यकताको आधारमा काम गर्नुपर्ने बताउनुभएको हो ।


उहाँले निर्वाचनमा एउटा गठबन्धनमा बसेर भोट माग्ने र निर्वाचनपछि अर्को गठबन्धन बनाउने राजनैतिक बेइमानी भएको बताउँदैं आफु जुन गठबन्धनको मतले निर्वाचित भएको हो सोही अनुसार ५ वर्ष काम गर्ने प्रतिवद्धता जनाउनुभयो । “सरकार गठनका लागि गठबन्धन बन्ने र भत्किने क्रम चलिरहन्छ तर म ईमान्दार पूवर्क भन्छु । जुन गठबन्धनबाट निर्वाचित भएको हो । ५ वर्ष सोही अनुसार काम गर्छु,” उहाँले भन्नुभयो ।
उहाँले सांसद विकास निर्माणमा जोडिनु भन्दा पनि स्थायी सरकारको रुपमा रहेको स्थानीय तहलाई बढी क्रियाशिल बनाएर विकास निर्माणका कार्यमा जोड्नु पर्नेमा जोड दिनुभयो । “जनताको नजिकको र सहज पहुँच भएको सरकार स्थानीय तह हो । यो स्थायी पनि छ । विकास निर्माणमा बढी भन्दा बढी स्थानीय तहलाई क्रियाशिल हुने गरी ऐन कानून र नीति नियम बन्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले त्यसो गर्न सकेमात्र जनताले लोकतान्त्रिक सरकारको अनुभुती गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका सांसद भावना श्रेष्ठले प्रदेश सरकारले जनताको चाहना अनुरुपका विकास निर्माण र सेवा सुविधा प्रदान गर्दै आइरहेको चर्चा गर्दै प्रदेश संरचनालाई थप बलियो बनाउन संघ सरकारले छिटो भन्दा छिटो आवश्यक ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।


मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो दुई वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद, सहकारी, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरेका कार्यको विस्तृत विवरण प्रस्तुत गर्दै नगरपालिकामा सुशासन कायम गरी पारदर्शी ढंगले सेवा प्रवाहमा जोड दिएको बताउनुभयो ।
“यो दुई वर्षमा दुई दर्जन ऐन कानुन, कार्यविधि र निर्देशिका तयार गरी लागू गरेका छौं । यसले नागरिकले असल सुशासनको अनुभुती प्राप्त गर्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो ।
उहाँले स्वास्थ्यमा सबै नगरवासीलाई निःशुल्क स्वास्थ्य विमा गराउने, अमुर्त संस्कृति अन्तर्गत परम्परागत दाफा भजनको संरक्षणको लागि यस क्षेत्रका विज्ञ सम्मिलित समिति बनाई अध्ययन अनुसन्धान र संरक्षणको कार्य अघि बढाउने तयारी भइरहेको बताउनुभयो । उहाँले शिक्षातर्फ आगामी वर्षदेखी सामूदायिक विद्यालयमा पूर्णरुपमा निःशुल्क शिक्षा लागु गर्ने, सामूदायिक विद्यालयको शौचालय सरसफाईको जिम्मेवारी नगरपालिकाले लिनेलगायतका सुधार कार्य गर्ने जानकारी दिनुभयो ।


उपप्रमुख विजयकृष्ण श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको वाचा पुरा गर्ने क्रममा शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले नर्सिङ कलेज सञ्चालन, प्यारामेडिक सेवा शुरु गर्ने कार्य अघि बढेको जानकारी दिँदैं यहाँको मौलिक परम्परागत पेशा व्यवसायलाई संरक्षण गरी पर्यटनसँग जोड्ने र आय आर्जनको स्रोतको रुपमा विकास गरी मध्यपुर थिमि बासीसँगै समृद्ध मध्यपुर थिमिको सपना साकार पार्ने योजना अनुसार काम भइरहेको बताउनुभयो ।


राजनैतिक दलहरुका तर्फबाट नेपाली कांग्रेसका नगरसभापति हरिदास प्रजापतिले जनताले परिवर्तनको अनुभुती हुने गरी विकास निर्माणका साथै रोजगारी बृद्धिमा नगरपालिकाले जोड दिनुपर्ने बताउनुभयो । उहाँले बेरोजगारी नै युवा विदेश पलायनको मूख्य कारण भएको बताउँदैं युवा लक्षित आयआर्जन एवम् स्वरोजगार मूलक पेशा व्यवसायको प्रर्वद्धनमा नगरपालिकाले ध्यान दिन सुझाव दिनुभयो ।


प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले स्थानीय सरकारले जनतालाई कुनै भदभाव नगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले दिने सेवा सुविधाको गुणस्तर नै जनताको लागि राज्यले दिने सेवा सुविधाको मानक भन्ने भएकाले स्थानीय तहले सुशासनमा जोड दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठ, पूर्व उपप्रमुखहरु मुरारी प्रसाद आचार्य र अञ्जनादेवी मधिकर्मी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यलगायतले नगरपालिकाले गतिविधि सुशासन मैत्री र पारदर्शी हुनुपर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा नगरपालिकाले प्रकाशन गरेको हाम्रो मध्यपुर थिमि बुलेटिनको विमोचन गर्नुका साथै ई सिफारिसको शुभारम्भ गरिएको थियो ।


कार्यक्रममा नगरपालिकाले उत्कृष्ट करदाताको रुपमा वडा नं. ३ का किरण बहादुर थापा, उत्कृष्ट उपभोक्ता समिति धपाहिटी परिसर सुधार उपभोक्ता समिति वडा नं. १, उत्कृष्ट सामूदायिक विद्यालय आदर्श मावि सानोथिमि, उत्कृष्ट संस्थागत विद्यालय जनप्रेमी वल्र्ड स्कुल कौशलटार र उत्कृष्ट कर्मचारीको रुपमा राजश्व शाखाका प्रमुख रविन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
साथै नगरका सडक कालोपत्रे गर्ने कार्यमा समन्वयकारी भूमिका निर्वाह गरी सहयोग गर्नुहुने सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख डि.ई. राजेन्द्र दास र ईं गंगारा महर्जनलाई सम्मान गरिएको थियो ।


यसैगरी उमेर हदका कारण सेवा निवृत्त हुनुभएका महिला स्वास्थ्य स्वयम् सेविकाहरु ५ जनालाई जनही नगद एक लाखसहित सम्मान गरिएको थियो भने एक वर्षको अवधीमा अवकास प्राप्त गरेका कर्मचारीहरु शुभ लक्ष्मी श्रेष्ठ, भवानी काफ्ले, सुन कुमार राउत, हरि लक्ष्मी श्रेष्ठ र गंगाराम धेकेलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुने बालकराम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।


स्थापना दिवसकै अवसरमा मध्यपुर थिमिले नगरका ज्येष्ठ नागरिकहरु मध्ये प्रत्येक वडाबाट एक जना महिला र एक जना पुरुष गरी १८ जनालाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा दिगुटोलबाट महाकाली नाच, विनायक शिक्षा निकेतनका छात्रछात्राले शास्त्रीय नेवारी नृत्य प्रस्तुत गरिएको थियो ।