गोकर्णेश्वर तारेभिर घटना–एकतर्फी प्रेम स्विकार नगर्दा युवतीको हत्या

भक्तपुर, चैत्र ४
काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका–३ की १८ वर्षिया सुस्मा लामाको हत्या गरेको आरोपमा सोही स्थान बस्ने २१ वर्षिय रुपेन्द्र लामालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
सुस्माको शव गोकर्णेश्वर नगरपालिका–३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा गत फागुन २४ गते फेला परेको थियो । सो घटनापछि प्रहरीले ‘अप्रेसन तारेभिर’ चलाएको थियो । शव फेला परेको एक सातापछि प्रहरीले रुपेन्द्रलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
अनुसन्धानको क्रममा रुपेन्द्रले राखेको प्रेम प्रस्ताव सुस्माले पटक पटक अस्विकार गरेकोले हत्या गरेको खुल्न आएको छ । गत माघ २२ गते पनि कलेज जान हिँडेकी सुस्मालाई बाटोमा रोकेर प्रेम प्रस्ताव गरेको र सुस्माले नमान्दा सोही दिन हत्या गरेको बयान रुपेन्द्रले दिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।
प्रहरीका अनुसार गत २४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको शव रहेको भन्दै प्रहरीलाई खबर आएको थियो ।
खबर आउनसाथ प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाण्डौं र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो । त्यसदिन साँझदेखि घटनास्थललाई नियन्त्रणमा राखेको प्रहरीले २५ फागुनमा शव उत्खनन गरेको थियो ।
उत्खनन गर्दा दुई हात पेटीले बाँधिएको र घाँटीमा टाइले कसिएको अवस्थामा शव भेटिएको थियो । घटना लगत्तै प्रहरीले अनुसन्धान शुरु गर्ने क्रममा शव सुस्माको भएको पुष्टि भयो । अनुहार हेरेर मात्र शव चिन्न सकिने अवस्था नभएपनि कपडाको खल्तीमा भेटिएको चाबीबाट उक्त शव सुष्माकै हो भनेर परिवारले सनाखत गरेको थियो ।
गत माघ २२ गते बिहान कलेज गएकी सुस्मा घर नआई बेपत्ता भएकी थिईन । साँझसम्म सुस्मा घर नआएपछि आफन्त र उनका साथीहरु कहाँ सोधखोज गर्दा पनि उनी पत्ता लाग्न सकेन ।
माघ २३ गते सुस्माको फेसबुक आइडीबाट बेहुला बेहुलीको कपडा लगाएको फोटो पोष्ट भयो । बेहुलाको अनुहारमा इमोजी राखेर छोपिएको थियो भने क्याप्सनमा लेखिएको थियो, ‘सरी सबैजनालाई ३ दिनमा म आउँछु ।’ फेसबुकमा बिहे गरेको फोटो पोष्ट भएपनि परिवारले उनको खोजी जारी राखे ।
माघ २४ गते साँझसम्म सुस्माको अवस्था पत्ता नलागेपछि परिवारले माघ २५ गते बौद्ध प्रहरीमा खोजतलासको लागि आवेदन दिएका थिए । तर प्रहरीमा निवेदन दिएको भोलिपल्टै सुष्माकी दिदी नाता पर्नेलाई सुष्माको मोबाइलबाट एउटा म्यासेज आयो । म्यासेजमा लेखिएको थियो, ‘के को पुलिस रिपोर्ट गरेको ? म ३ दिनमा आउँछु भन्दाभन्दै कस्तो मान्छेहरु रहेछ ।’ यस्तो हर्कतले परिवार झन चकित परे, तर सुस्माको अवस्था पत्ता लाग्न सकेको थिएन ।
फागुन २४ गते तारेभिरमा युवतीको शव भेटिएको खबर प्रहरीले दिएपछि उनको परिवार घटनास्थलमा पुगेको र कपडामा भएको चावीको सहायताले शव पहिचान भएको थियो ।


त्यसपछि प्रहरीले अप्रेसन तारेभिर नाम दिएर अनुसन्धान अगाडि बढायो । अनुसन्धानको क्रममा रुपेन्द्रले सुस्माको हत्या गरेको निष्कर्षमा पुगेपछि प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्दा घटना स्विकारेको एसपी रेग्मीले बताउनुभयो ।
प्रहरीका अनुसार सुष्मा र पक्राउ परेका युवक रुपेन्द्र एकै ठाउँका चिनजानका र सहपाठी हुन । उनीहरु करिव २ वर्षदेखी बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे । तर टेलिफोन र अन्य सामाजिक सञ्जालबाट भने कुनै कुराकानी हुँदैन थियो ।
पछिल्लो आठ महिनायता भने रुपेन्द्रले सुष्मालाई प्रेमिकाको रुपमा हेर्ने गरेको तर सुष्माले भने रुपेन्द्रसँग प्रेम सम्बन्ध नचाहेको पाइएको एसपी रेग्मीले बताउनुभयो । “रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक पटक प्रेम प्रस्ताव राख्दा सुस्माले अस्विकार गरेको पाईयो,” रेग्मीले भन्नुभयो, “सुष्मा मेरो हुन सक्दिनन् भने म कसैको पनि हुन दिन्न भनेर योजना बनाएर हत्या गरेको देखियो ।”
रुपेन्द्रले ८ दिनसम्म सुस्माको बाटो ढुकेर बसेको र ४ दिनदेखी खाल्डो खन्न प्रयोग भएको फलामको कुटो समेत साथमा लिई हिडेको अनुसन्धानमा खुल्न आएको छ । सुष्माले पढ्ने बुढानीलकण्ठ मावि जाने बाटो कुरेर बस्ने गरेको, अन्य व्यक्ति देखेकाले सफल नभएको र आठौं दिनमा हत्या गरेर शव गाडेको बयान रुपेन्द्रले प्रहरीसमक्ष दिएको एसपी रेग्मीले जानकारी दिनुभयो ।
हत्यापछि बाटोबाट करिब ५० मिटर जति तल लगेर रुपेन्द्रले शव गाडेका थिए । यो काम उनी एक्लैले गरेको देखिएको प्रहरीको भनाइ छ । “शव गाडेको स्थान पहिले देखी नै रेकी गरी राखेको पाईन्छ,” रेग्मीले भन्नुभयो, “घटनाको दिन सुस्मा एक्लै कलेज गईरहेको देखी उनलाई बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा ईन्कार गरेकोले पछाडीबाट घांटी थिची अचेत बनाई पहिले नै रेकी गरेको स्थानमा लगी टाई र जुत्ताको तुनाले घाँटीमा कसेको र हातलाई सुस्माकै कम्मर पेटीले बांधी कुटोले खाल्डो खनी पुरेको खुल्न आएको छ ।”
प्रहरीले रुपेन्द्रको घरबाट शव गाड्न प्रयोग भएको कुटो, कुटो बोक्न प्रयोग गरेको झोला, सुष्माको किताब र मोबाइलसमेत बरामद गरेको छ । सुष्माको किताब र मोबाइलसमेत रुपेन्द्रको कोठामा फेला पर्नुले उनको संलग्नता पुष्टि हुने प्रहरीको दावी छ ।
सुष्माको शव पहिचान भएपछि प्रहरीले फेसबुकमा पोस्ट भएको फोटोकै आधारमा अनुसन्धान अघि बढाएको थियो । त्यसपछि प्रहरीले सुष्मासँग कुराकानी हुने व्यक्ति र उनका साथीहरुको खोजी गर्दै एक सय जना भन्दा बढीसँग सोधपुछ गरेको थियो । २० जनालाई प्रहरी कार्यालयमै उपस्थित गराएर सोधपुछ गरेको थियो ।
प्रहरीले तारेभिरका करिव ७० घरमा सर्च गरी रुपेन्द्रलाई घरैबाट पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रुपेन्द्रलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाउन प्रहरी वृत्त बौद्ध पठाइएको छ ।