डा. कायस्थको पुस्तक ‘भवन निर्माण र वास्तुशास्त्र’ सार्वजनिक

भक्तपुर, चैत्र ३
ज्योतिष तथा वास्तुविद् डा. वीरेन्द्रप्रसाद कायस्थको नयाँ पुस्तक ‘भवन निर्माण र वास्तुशास्त्र’ शनिवार सार्वजनिक भएको छ । भक्तपुरमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सो पुस्तक विमोचन गर्दै सार्वजनिक गर्नुभएको हो ।
पुस्तकमा वास्तुशास्त्र र वास्तुदेवको परिचय, वास्तुपुरुषको दिशा, घरको जग खन्दा नागको शिर विचार, चन्द्वास विचार, यात्रा मूहुर्त विचार, राहुकाल, पञ्चक, वास्तुशास्त्रमा दिशाको महत्व, भूमी, घडेरीका प्रकार, बाटोको स्थिती अनुसार घडेरीको छनोट, भवन निर्माणको सही समय, वास्तुपुजा विधि, जग कसरी राख्ने विषयमा चर्चा गरिएको छ ।
यसैगरी घरभित्रका शयन कक्ष, भान्छाघर, शौचालय, पानीका स्रोत, पुजा कोठाको छनोट, ती कोठाहरुको वास्तुशास्त्र अनुसारको सजावट, घर भित्र र बाहिरको वास्तु, वास्तु अनुसार घरमा राख्ने चिजहरुको बारेमा समेत उल्लेख गरिएको छ ।
पुस्तकमा घरमा फलिफाप गर्ने बिरुवा, लक्ष्मीको बासको उपाय, ऋणबाट मुक्ति पाउन सहारा लिने पाँच वृक्ष, भाग्य चम्काउने मांगलिक वस्तु, घरमा धनको अभाव हुन नदिने वस्तु, गृह वास्तुविज्ञान, गृह निर्माणको सुत्रको बारेमा पनि उल्लेख गरिएको छ ।
न्यू विद्या प्रिन्टिङ्ग प्रेसमा मुद्रण गरिएको पुस्तकको प्रकाशिका श्रीमती विष्णुमैंया कायस्थ, कम्युटर लेआउट प्रत्युश कायस्थ रहनुभएको छ भने पुस्तकको मूल्य ६५० रुपैंया रहेको छ ।
पुस्तकको विमोचन गर्दै अध्यक्ष बिजुक्छेंले सरकारले वास्तुविदको सल्लाहमा भवन निर्माणमा वास्तुशास्त्र अनुसारको नीति बनाएर लागू गरे धेरै घर बलियो बनाउन र वास्तुशास्त्र अनुसार बनाउन सकिने बताउनुभयो ।
उहाँले अहिलेकै अवस्थामा युवाहरु विदेश पलायन भइराखे अवको १० वर्ष पछि टोलटोलमा ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतनको आवश्यकता पर्ने आंकलन गर्नुभयो ।
नेतृत्वमा पुग्नेहरुको शिक्षा राम्रो नभएका कारण विभिन्न काण्डहरुमा फस्ने गरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले शिक्षा र सत्तामा जाने नेताहरु ठिक नभएको बताउनुभयो । उहाँले सत्तामा बसेका व्यक्तिहरु एक पछि अर्को काण्डमा फस्दै गएको घटनाबाट प्रधानमन्त्री भाग्न नपाउने बताउनुभयो । उहाँले विदेशी प्रभावका कारण देश अहिलेको अवस्था पुगेको बताउँदैं राजनीति सही ढंगले चल्न नसक्दा देश विकास पनि हुन नसक्ने बताउनुभयो ।
बागमति प्रदेश सभा सदस्य सृजना सैंजुले विमोचित पुस्तकमा प्राचिन ज्ञानदेखी विज्ञानसम्मका विषयवस्तु समेटिएको बताउँदैं भक्तपुर वास्तुशास्त्रको लागि आफैंमा विश्वविद्यालय भएको धारणा राख्नुभयो ।
ईतिहास एवम् संस्कृतिविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठले नेवाः वास्तुकला संसारकै अनुपम कला भएको दावी गर्दै पुस्तकमा भवन निर्माण र वास्तुशास्त्रमा नेवारी परम्परागत घर निर्माण विधि र शिल्प समावेश भएको बताउनुभयो ।
पुस्तकका लेखक कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छें, वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वाले पनि धारणा राख्नुभएको थियो ।